विनोद सुवेदी
विराटनगर, जेठ ८ गते ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले प्रहरीकै सहयोगमा सीमा क्षेत्रमा तस्करी भइरहेको आरोप लगाएका छन्। कोशी प्रदेश सभाको बुधबारको बैठकमा धारणा राख्दै कार्कीले प्रहरीकै सहयोगमा तस्करी भइरहेको आरोप लगाएका हुन् ।
पूर्वमुख्यमन्त्री कार्कीले सीमावर्ती नाकामा सेटिङमा राति–राति तस्करलाई सघाउने ट्रकबाटै सामान वारपार गर्ने दिउँसो सर्वसाधारणको दुई किलो चिनीको झोला खोदलखादल गर्ने गतिविधि प्रहरीले गरिरहेको बताए।
कार्कीले सीमामा दिनभर सर्वसाधारणको झोला खोतलखातल गरिए पनि राति भने प्रहरीकै सहयोगमा ठूला ट्रकहरू सजिलै नेपाल प्रवेश गर्ने गरेको उल्लेख गरे। कार्कीले भने, ‘दिउँसो सर्वसाधारणको झोला खोतलिन्छ, राति प्रहरी आफैँ लाइट बालेर तस्करलाई सहयोग गरिरहेको हुन्छ ।’
डिआइजी कार्यालय अगाडिको अरुण सिनेमा अगाडि भत्केको पर्खाल भएको ठाउँमा प्रहरीले लाइट बालेर तस्करीको सामान नेपाल भित्राउने गरेको उनले बताए । उनले आफूले प्रत्यक्ष रूपमा यस्तो दृश्य देखेको दाबीसमेत गरेका छन्।
गृहमन्त्रीले तस्करी रोक्न निर्देशन दिएपछि दिउँसोको रोकिएको तर, रातिको नरोकिएको उनले बताए । गृहमन्त्री अगाडि बोल्दै गर्दा प्रहरीका एसपी पछाडी भोला गुड्का खाने, तीन जना प्रहरी निरिक्षक डिआइजीलाई कति पैसा दिने, एसपीलाई कति दिने भन्ने विवादमा झगडा गरेर ओठ मुख नै फुटाउँदा पनि पक्राउ र कारबाही नहुने गरेको कार्कीले बताए।
उनले ‘सर्वसाधारणले गलत गरे प्रहरीले पक्राउ गर्छ, प्रहरीले होटलमा झगडा गर्दा कुटाकुट गर्दा कसले कारबाही गर्ने’ भन्दै प्रश्नसमेत गरे।





