वैरागीको संयोजकत्वमा भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन समिति गठन



काठमाडौं, असार १० गते ।

सरकारले भिजिट भिसा तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका सम्बन्धमा छानबिन गर्न शंकरदास वैरागीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले पूर्व मुख्यसचिवसमेत रहेका वैरागीको संयोजकत्वमा ‘अध्यागमन र भिजिट भिसाको उच्चस्तरीय अध्ययन एवं छानबिन समिति’ गठन गरेको हो ।

३ महिनाको कार्यादेश दिइएको समितिमा गृह, श्रम, संघीय मामिला, परराष्ट्र मन्त्रालयका सहसचिव सदस्य रहने एक मन्त्रीले एभरेष्ट न्यूज एजेन्सीलाई जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसँग कांग्रेस र एमालेले गारो दुई बुँदे सहमति अनुसार सरकारले उच्चस्तरीय छानबिन समिति बनाएको बताइएको छ ।

जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा संसद अवरुद्ध भएपछि जेठ ३० मा कांग्रेस–एमालेले माओवादी केन्द्रसँग दुई बुँदे सहमति गरेका थिए । भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दै हाल रास्वपा र राप्रपाले संसद्‌मा अवरोध जारी राख्दै आएका छन् । एभरेष्ट न्यूज एजेन्सी

Scroll to Top