प्रस्तावित साउदी टी-२० लिगलाई ठूलो धक्का



काठमाडौँ, असार १२ गते ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड र इङल्याण्ड र वेल्स क्रिकेट बोर्डले प्रस्तावित साउदी टी-२० लिगलाई ठूलो धक्का दिएका छन् ।

दुवै बोर्डले आफ्नो देशका टी–२० फ्रेन्चाइजी परियोजनालाई बचाउन साउदी टी-२० प्रतियोगितालाई समर्थन नगर्ने निर्णय गरेको मिडिया रिपोर्टमा उल्लेख छ । यसको अर्थ यी दुवै देशले आफ्ना खेलाडीहरूलाई साउदी टी-२० लिगमा सामेल हुन एनओसी दिने छैनन् ।

प्रस्तावित साउदी टी–२० लिगमा ८ सय मिलियन डलरको लगानी गरिने बताइएको छ । बेलायती अखबार द गार्जियनका अनुसार भारत र इङल्याण्डका दुवै बोर्डले साउदी टी–२० मा आफ्ना खेलाडीलाई अनुमति नदिन एक ठाउमा आएका छन् । भारतले यसअघि देखि नै आफ्ना खेलाडीलाई विदेशी लिगमा खेल्न अनुमति दिने गरेको छैन ।

अर्कोतर्फ, क्रिकेट अस्ट्रेलियाले लिगमा साउदी लगानीकर्ताहरूसँग साझेदारी गर्न उत्सुक देखिएको बताइएको छ । रिपोर्टका अनुसार साउदी अरेबियाको एसआरजे स्पोर्ट्स इन्भेस्टमेन्ट्सले नयाँ लिग स्थापना गर्न ८०० मिलियन डलर लगानी गर्ने वाचा गरेको छ । यसमा, आठ टोलीहरूले प्रत्येक वर्ष विभिन्न स्थानमा चार प्रतियोगिता खेल्नेछन्, जसलाई टेनिसको ग्रान्ड स्लामसँग तुलना गरिएको छ । क्रिकेट अस्ट्रेलियाले निजी लगानीकर्ताबाट नाफा कमाउने उद्देश्य राखेर यसमा चासो दिएको बताइएको छ । क्रिकेट अस्ट्रेलियाले पनि आफ्नै बिग ब्यास लिग फ्रान्चाइजी लिग चलाइरहेको छ ।

अर्को तर्फ साउदी टी-२० लिग शुरु गर्न अस्ट्रेलियाका मुर्व खेलाडी निल म्याक्सवेल र अस्ट्रेलियन क्रिकेटर एसोसियसनको सहयोग रहेको बताइएको छ । यस लिगको मुख्य लगानीकर्ता साउदी अरेबियाको एसआरजे स्पोर्ट्स इन्भेस्टमेन्ट्स रहेको छ ।

यस प्रतियोगिताका लागि आइसीसी र यसका सदस्य देशको अनुमति लिने प्रयास गरिएको भएपनि भारत र इङल्याण्डले अस्वीकार गरेपछि ठुलो झट्का लागेको छ ।

यस प्रतियोगिताले साना क्रिकेट खेल्ने देशलाई आर्थिक सहयोग हुने र भारत, अस्ट्रेलिया र इङल्याण्ड बाहिर क्रिकेटको आम्दानीको नयाँ ठुलो स्रोत खोल्ने उद्देश्य राखिएको बताइएको छ ।

यस अघि साउदी अरेबियाले फर्मुला रेस, फुटबल, ओलम्पिकमा ठुलो लगानी गरिसकेकाले क्रिकेटमा गर्न लागेको लगानीप्रति क्रिकेट प्रेमीमा भने उत्साह बढाएको छ । एभरेष्ट न्यूज एजेन्सी

Scroll to Top