- विपीराज दाहाल
मन शान्त रहोस् तन स्वस्थ रहोस्
सब मानवमा सुख वृद्धि हअोस्
धरती नभमा जति प्राण रहून्
सब हर्ष विभोर बनी उभियून ।
हित मानव खातिर सोच बढोस्
छलछाम कुनै मनमा नरहोस्
बुझ पाप र धर्म यही मन हो
मन बुझ्न सके बुझ यै धन हो ।
धन बैभवले न त शान्ति दिने
न त शोक र भोक मिटाइदिने
धनदास बनेर नचाउँछ जो
न त मालिक बन्न सघाउँछ यो ।
हर वस्तु विषे जब भोक बढे
बुझ जीवनमा तब शोक बढे
बुझ जीवनसार यही छ अरे
अति चञ्चल यो मन शान्त गरे ।
सुख चैन मिलाउन सक्छ मन
दुख दर्द हटाउन सक्छ मन
सहजै तनभार हटाउँछ यो
नवचेतन भाव जगाउँछ यो ।
अति शिष्ट विचार धरौँ मनमा
सहयोग गरौँ हर जीवनमा
न त जित्न परोस् न त हार्न परोस्
समभाव रहोस् हर चिन्तनमा ।





