कारागारबाट कैदीबन्दी भाग्ने प्रयास, गोली चल्दा १२ जना घाइते



काठमाडौँ, भदौ २६ गते ।

रामेछाप जिल्ला कारागारका कैदीबन्दीले सामूहिक रूपमा भाग्ने प्रयास गरेका छन् । बिहीबार बिहान उनीहरूले सामूहिक रूपमा भाग्न खोजेका हुन् ।

कैदीबन्दी भाग्न खोज्दा नेपाली सेनाले गोली चलाएको छ । सेनाले चलाएको गोली लागेर एक दर्जनभन्दा बढी कैदीबन्दी घाइते भएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।

उनले कैदीबन्दीले कारागारभित्रका सबै ताला फोडेर बाहिर निस्कने क्रममा मुख्य गेटको ताला समेत तोड्न खोजेपछि सुरक्षा निकायले गोली चलाएर नियन्त्रणमा लिएको बताए । उनले भने, ुभित्रका ताला फोडेर बाहिर गेटसम्म पुग्ने प्रयास गरियो। त्यसपछि सेनाले गोली चलायो । घटनामा १२–१३ जना घाइते भएका छन्’, प्रमुख जिल्ला अधिकारी थापाले भने ।

उनले घाइते भएकाहरूको उपचार भइरहेको ३ जनाको अवस्था गम्भीर रहेको बताए ।

रामेछाप नगरपालिका–८ डाँडामा अवस्थित कारागारमा हाल ३०० भन्दा बढी कैदीबन्दी रहेका छन् । अहिले सबै कैदीबन्दी नियन्त्रणमा रहेका छन् ।

Scroll to Top