सहयोग जुटाएर दृष्टिविहीन विद्यार्थीलाई ल्यापटप



तनहुँ, असोज १२ गते ।

तनहुँको ऋषिङ गाउँपालिका–८ धारुङ गौरीगाउँस्थित दृष्टिविहीन सोलुमाया आलेलाई सहयोग जुटाएर ल्यापटप हस्तान्तरण गरिएको छ । जन्मजात दृष्टिविहीन आलेलाई अध्ययनमा सघाउने उद्देश्यसहित विभिन्न व्यक्तिबाट रकम जुटाएर ल्यापटप सहयोग गरिएको हो ।

‘दृष्टिविहीन सोलुमाया आलेका लागि ल्यापटप अभियान’ सञ्चालन गरी एक लाख ६५ हजार ९५० सङ्कलन भएको स्थानीय अगुवा इन्द्रबहादुर आलेले जानकारी दिए । डेढ महिनाअघि सुरु गरिएको अभियानका लागि ३२ जनाबाट रकम सङ्कलन भएको उनले बताए ।

सङ्कलित रकममध्ये ५४ हजार ५०० मा ल्यापटप खरिद गरिएको छ । बाँकी एक लाख ११ हजार ४५० मध्ये एक लाख आलेको खातामा जम्मा गरिएको छ भने ११ हजार ४५० नगद शनिबार निजको घरमा पुगेर ल्यापटपसहित हस्तान्तरण गरिएको छ ।

आले हाल पृथ्वीनारायण क्याम्पस पोखरामा बिएड दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । यस अभियानका लागि सबैभन्दा बढी रकम हाल अमेरिका निवासी प्राध्यापक बीके रानाले रु ५१ हजार ५५६ सहयोग गरिएको थियो ।

Scroll to Top