माडागास्कर, असोज १४ गते ।
पानी र बिजुलीको लामो समयदेखिको कटौतीविरुद्ध युवाहरूको नेतृत्वमा भएको प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिले आफ्नो सरकार विघटन गर्ने घोषणा गरेका छन् ।
राष्ट्रपति एन्ड्री राजोएलिनाले सोमबार राष्ट्रका नाममा टेलिभिजनबाट सम्बोधन गर्दै भने, ‘सरकारका सदस्यहरूले उनीहरूलाई सुम्पिएको जिम्मेवारी पूरा नगरेको हामी स्वीकार गर्छौँ र माफी माग्छौँ ।’
जेनजी प्रदर्शनहरूमा गत बिहीबारदेखि माडागास्करका सहरहरूमा हजारौँ युवा प्रदर्शनकारीहरू नारासहित सडकमा उत्रिएका थिए । यसमा कम्तीमा २२ जनाको मृत्यु भएको र १०० जना घाइते भएको बताएका छन् ।
संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टर्कले प्रदर्शनलाई दबाउन सुरक्षा बलले ‘अनावश्यक बल’ प्रयोग गरेको भन्दै निन्दा गरेका छन् । यद्यपि, माडागास्करको विदेश मन्त्रालयले यो तथ्याङ्क ‘अफवाह वा गलत सूचनामा आधारित’ रहेको भन्दै राष्ट्रसंघको तथ्याङ्क अस्वीकार गरेको छ ।
प्रदर्शनहरू सुरुमा राजधानी अन्टानानारिभोमा सुरु भए पनि पछि देशका आठ सहरहरूमा फैलिएका थिए । हिंसा र लुटपाटको खबरपछि अन्टानानारिभोमा रातभर कर्फ्यु लगाइएको थियो र प्रहरीले भीडलाई तितरबितर पार्न रबरको गोली र अश्रुग्याँस प्रहार गरेको थियो ।
गत हप्ता, माडागास्करका राष्ट्रपतिले आफ्नो काम राम्ररी गर्न नसकेको भन्दै ऊर्जा मन्त्रीलाई बर्खास्त गरेको घोषणा गरेका थिए, तर प्रदर्शनकारीहरूले राष्ट्रपति र बाँकी सरकारले पनि राजीनामा दिनुपर्ने माग राखेका थिए । सोमबार पनि हजारौँ मानिसहरू सडकमा उत्रिएका थिए ।
राजोएलिनाले सरकारी सञ्चारमाध्यम टेलिभिजोना मालागासीमा आफ्नो सम्बोधनका क्रममा भने, ‘म बिजुली कटौती र पानी आपूर्तिको समस्याले गर्दा हुने रिस, दुःख र कठिनाइहरू बुझ्छु ।’
उनले नयाँ सरकार गठन गर्नु अघि अर्को तीन दिनसम्म नयाँ प्रधानमन्त्रीका लागि आवेदनहरू स्वीकार गरिने जानकारी दिए । यद्यपि, नयाँ सरकार नबनेसम्म हाल पदमा रहेका व्यक्तिहरूले अन्तरिम मन्त्रीको रूपमा काम गर्ने उनले उल्लेख गरे । राजोएलिनाले युवाहरूसँग वार्ता गर्न चाहेको पनि थपे ।
माडागास्करमा सन् १९६० मा स्वतन्त्रता प्राप्त गरेदेखि नै धेरै विद्रोहहरू भएका छन्, जसमा सन् २००९ को जनप्रदर्शन पनि समावेश छ जसले पूर्व राष्ट्रपति मार्क रावालोमानानालाई पद छोड्न बाध्य पारेको थियो र राजोएलिना सत्तामा आएका थिए । यो प्रदर्शन राष्ट्रपतिले सन् २०२३ मा तेस्रो पटक पुनः निर्वाचित भएपछि सामना गरेको सबैभन्दा महत्त्वपूर्ण चुनौती हो । एजेन्सी





