इस्लामाबाद, कार्तिक ९ गते ।
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको हांगु जिल्लामा भएको एउटा बम विस्फोटमा परी प्रहरी उपरीक्षक (एसपी) सहित तीन प्रहरी अधिकारीको मृत्यु भएको छ । बीबीसी उर्दूका अनुसार शुक्रबार भएको आक्रमणमा प्रहरी उपरीक्षक असद जुबैरको मृत्यु भएको हो ।
हांगु शहर प्रहरी चौकीमा तैनाथ प्रहरी अधिकारी मोहम्मद तैफले दिएको जानकारीअनुसार आक्रमणकारीहरूले हांगु क्षेत्रको गाल्मिना नामक चेकपोस्टलाई विस्फोटक पदार्थले निशाना बनाएका थिए ।
यस घटनाको खबर पाएलगत्तै एसपी (अपरेसन) असद जुबैर आफ्नो टोलीसहित घटनास्थलतर्फ गएका थिए । प्रहरीका अनुसार सोही क्रममा बाटोमा राखिएको आईईडी विस्फोटनले एसपी अपरेसनको गाडीलाई निशाना बनायो । विस्फोटमा उनीसँगै गएका तीन प्रहरीको घटनास्थलमै मृत्यु भयो ।
प्रहरीले घटनापछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ र खोजी कार्य जारी राखेको छ । पाकिस्तानका केन्द्रीय गृहमन्त्री मोहसिन नकवीले यस घटनाको कडा निन्दा गरेका छन् र मारिएका प्रहरीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।





