- सत्य कुमार महतो
हार्दिक अभिवादन !
राजनीतिको हरेक कालखण्डमा मधेशले निर्णायक भुमिका खेल्दै आएको छ । चाहे त्यो राणाकालीन समयमा होस् चाहे त्यो प्रजातन्त्रमा होस् वा मधेश जन–आन्दोलनमा । तर मधेशले सधैं आफ्नो अस्तित्व, स्वाभिमान, पहिचान र संस्कृतिलाई जोगाउन हरेक कालखण्डमा आहुती दिदै आएको छ । परिणाममा जति उपलब्धि आउनुपर्ने हो आएको छैन अझै मधेश आफ्नो अस्तित्व र पहिचानको लागि लडाइँमै छ । परापुर्वकालदेखी मधेश पछाडि धकेलिएको र पारिएको विभिन्न घटनाक्रमले स्पष्ट पारेको छ । यो सबैको धरातल रहेको छ, यहाँको गुणस्तरीय शिक्षा ।
शिक्षाको बलियो इतिहास रहेको मधेश कसरी पछाडी धकेलियो त्यो प्रश्नको उत्तर यहाँको शासक वर्गले कहिलै ध्यान दिएन । शिक्षा नै समुन्नतिको मेरुदण्ड हो एउटा अब्बल पहिचान हो, जसले गुलामी, चाप्लुसी बाट पर राखी अधिकार सम्पन्न आर्थिक, सामाजिक रुपान्तरण कार्यनयनमा सघाउछ ।
पटकपटक शासकको जिम्मेवारी पाएका मधेशी राजनितीज्ञ व्यक्तित्वबाट पनि मधेश उक्लिन सकेन, विभिन्न लोभ, लालच, सत्ता लिप्सा र व्यक्तिगत स्वार्थको दलदलमा फसेको देखिन्छ ।
यसरी छटपटाइ रहेको मधेशमा पनि विकास नभएको चाहिँ होइन, विकास त भयो भौतिक पुर्वाधारमा जहाँ सडक, मन्दिर, प्रवेशद्वारको शिलान्यास निर्माणको छाताले भित्री पुर्वाधारमा रहेको शिक्षा, रोजगारी र समावेशी पहुँच छेकियो र सिमित वर्ग, दल विशेष नागरिकले सम्पन्नतालाई बन्द कोठामा रुपान्तरणको नारा दिइयो जुन रुपान्तरण नभई राजनीतिको नराम्रो अभ्यास झुन्ड खडा गरियो ।
यस्तो स्थितिमा यहाँका व्यवसायी, शिक्षित वर्ग, कर्मचारी डरको भुमरीमा बाच्न थाले । सर्वसाधारणको त पहुँचको कुरै भएन हजुरीमा तडपिन थाले। यहाँ यी उपरोक्त वर्गमा एक खाले त्रास छ त्यो हो पहुँचको । किनकि हरेक कामकारबाहीमा सर्वसाधारणको पहुँच पुग्नसकेको छैन चाहे त्यो प्रसाशनिक वा सामाजिक । एउटा अस्पतालमा भर्नाको लागि, राम्रो रेखदेख स्वस्थ्य उपचारको लागि, सार्वजनिक सुनुवाइको लागि भनसुन को आधारमा जीवन बाचिरहन बाध्य भएका छ्न यहाँका जन–समुदाय ।
यसरी हेर्दा यहाँको राजनीति अलि फरक रहेको देखिन्छ जन–समुदाय पटकपटक ठगिएका छ्न किनकी उनीहरु एकदमै सोझा छ्न, आशावादी छ्न कि कसैले त उनीहरुको जीवनमा परिवर्तन ल्याउछ्न त्यही भएर उनिहरु सधैं परिवर्तनको धारमा आफुलाई विश्वास गर्छन् । तर विडम्बना आजसम्म त्यस्तो व्यक्तित्व मधेशले भेटाउन सकेका छैनन् ।
यसको एउटा प्रमुख कारण हो यहाँका जतिपनी राजनीतिज्ञहरु छ्न उनीहरुको कुनै सामुहिक कार्य नहुनु, कुनैपनी अनुसन्धान नगर्नु, विषय विशेषज्ञ वा विज्ञहरुसँग परामर्श, सर–सल्लाह नगर्नु, उनीहरुको केवल एउटै जमात छ मेरो हल्ला बोल, मेरो सुन, मेरो भन । उनीहरुको पछाडी दौडने कि त अनपढ छन् कि त केही पाइएला भन्ने आशामा छ्न र बाकी डर, त्रास र भयमा बाँचिरहेका छन्, मनमा वितृष्णा वा भनौ घृणा भएपनी मौन छन् किनकी कतिपयलाई करारमा जागीर खानुछ, कसैलाई सरुवामा सहयोग लिनु छ, कतिपयलाई टेन्डर लिनुछ आदि इत्यादि ।
अहिलेको वर्तमान अवस्था हेर्ने हो भने मधेश प्रदेशनै कमजोर शिक्षाको दलदलमा पुगेको छ । अझै पनि बालबालिका विद्यालय भन्दा बाहिर छन्, गरीबीको रेखामुनि छन्, भएका पनि गुणस्तरीय शिक्षाबाट बन्चित छ्न् । सार्वजनिक स्वास्थ्य चौकीको सेवाबाट टाढा रहेका छ्न् । कतिपय स्वास्थ्य चौकी र सामुदायिक विद्यालयको गतिलो अभ्यास र राम्रो प्रगति देखिएपनि व्यापक रूपमा चिनाउने र सम्मानको पर्खाइमा रहेको देखिन्छ ।
यसरी समग्र रुपमा हेर्ने हो भने साधारण जन–समुदायको सर्व सुलभ पहुँच हरेक निकायमा विनाकुनै भनसुन वा बिना दबाबमा हुनुपर्ने हो ।
खासमा अहिलेको प्रतिनिधि सभा निर्वाचन के का लागि भनेर अनुसन्धान गरियो भने नसोचेको रिजल्ट आउँछ यसको कारण एउटै हो शिक्षा । नीतिनिर्माण तथा स्वाभिमान, अस्तित्व, पहिचान र संविधानको रक्षाको लागि अहम भुमिका खेल्ने प्रतिनिधि पात्र फेरि छनौट गर्ने मौका र अवसर रहेकोले आफ्नो विनाकुनै विभेद मधेशको शिक्षा, स्वास्थ्य र कृषिको सकुशल व्यवस्थापन तथा शिक्षालाई केन्द्रविन्दुमा राखेर पात्र छनौट गर्न सकियो भने सधैं यो छटपटिएको मधेशले निकास पाउने आशागर्न सकिन्छ तर ढुक्क भने अझै हुन सकिदैन ।
धन्यवाद !
सत्य कुमार महतो
एम फिल, अङ्ग्रेजी शिक्षा
शिक्षा विशेषज्ञ, धनुषा, मधेश प्रदेश





