शहीद [कविता]



  • नारायण घिमिरे

गाउँको चौतारीमा
वर्षौँको झरीमा रुझेर
बिना स्वार्थ
बिना गुनासो
बिना लालच
हजारौँ बटुवालाई शितल दिने
बूढो पिपल जस्तै
मेरो शहरको
चोकचोकमा शहीदको सालिक छ
त्यही सलिकको फेदमा
यो देश चलाउने मालिक छ।

जसरी
बटुवाहरू
बाटो लागेपछि पिपल छाहरी भुल्छन्
अझ भनौँ
आफ्नो अनुकुलतामा
चौतारी भत्काउन वा
पिपलकै निशानी मेटाउन लाग्छन्
हो! त्यसैगरी लाग्छ
मेरो देशको सरकार
विना हिच्किटाहट
शहीदको रगतमा होली खेल्न।

जुन सपना हुर्काउन
उसले
हाँसीहाँसी
बाबुआमाको काख त्याग्यो

सुम्पियो
देशलाई प्राण
आजफेरि पनि
त्यही सालिकको फेदैमा
कोही
भोको पेट भर्न
हात फैलाएर याचना गरिरहेछ
जीवनको ।

म सम्झिरहेछु
मरेर बाँच्नेहरूको जीवन गाथा
सम्झिरहेछु
बाँचेर मर्नेहरूको विलासी लिला।

— लेखक घिमिरे प्रगतिशील लेखक संघ नेपाल मधेश प्रदेश अध्यक्ष हुन् ।

Scroll to Top