महोत्तरी, माघ १८ गते ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै महोत्तरी–२ मा पनि चुनावी चहलपहल सुरु भएको छ । घरआँगन, टोल बस्तीमा आएका उम्मेदवार र दलका नेता कार्यकर्तालाई यहाँका मतदाता समस्या देखाउनेभन्दा पनि असन्तुष्टि पोख्न थालेका छन्।
ुहाम्रो बस्ती नदीका कारण समस्यामा छ, बर्खामा नदीमा आउने बाढीका कारण बस्ती र खेत जोखिममा पर्दै आएको छु, भङ्गाहा–६ हतिसर्वा मजराका ५५ वर्षीय सुरेश सर्दारले भने।
नदी नियन्त्रणका लागि पक्की तटबन्ध र कुलोनहरका बाँध नबन्दा बर्सेनि आफूहरूले दुःख पाइरहेको उनको भनाइ छ । विगतमा ठाउँठाउँमा कटान र डुबान रोक्न तटबन्ध निर्माण गरिए पनि त्यसले समस्या समाधान भएको छैन।
यहाँका नागरिकले चुनावमा भोट माग्न आउने उम्मेदवासमक्ष यस्तै गुनासा गर्न थालेका छन् । यस क्षेत्र भएर बग्ने रातु नदीको ताण्डवले जिल्लाका सात स्थानीय तहका बासिन्दा प्रभावित छन् । यसको दीर्घकालीन समाधान नपहिल्याइँदा समस्या जस्ताको त्यस्तै भएको बलवा–११ भगवतीपुरकी मरनी माझी मुसहरको भनाइ छ । ‘बर्खा लाग्यो कि घर बाढीले लाने हो कि भन्ने त्रास हुन्छ’, माझीले भने।
निर्वाचनमा उम्मेदवार र दलका कार्यकर्ताको आवतजावत बढेपछि चुनावी सरगर्मी बढेको छ । जिल्लाको पूर्वी मध्यभेगको यो क्षेत्रमा बिग्ही, रातु, मरहा र ओक्सीसहितका नदीपिडित समूहल मुख्य समस्या नै बर्खामा कटान र डुवान एवं हिउँदमा पानीको अभाव सुनाउँछन्।
जिल्लाको मध्यभेगको भङ्गाहा नगरपालिका–१, २, ६, ७ र ८, बलवा नगरपालिकाका–११, मध्यपूर्वी भेगको लोहारपट्टी नगरपालिकाका–९, महोत्तरी गाउँपालिका–६, औरही नगरपालिका–७, ८ र ९, पिपरा–६ र एकडारा गाउँपालिका–६ वडा महोत्तरी–२ मा पर्छन् । यहाँका बासिन्दाको मुख्य पेसा खेती भएर पनि सिँचाइको समुचित प्रबन्ध नहुँदा आकासे पानीको भरको खेती र बर्खामा बाढीले घरबस्ती डुबाउनेरबगाउने त्रासको नियति यहाँका बासिन्दाले खेप्दै आएका छन्।
‘हामी दुःखमा छौँ, खेतमा सिँचाइको प्रबन्ध छैन, बर्खामा बाढीले डुबाएर कहिल्यै राम्ररी अन्न थन्क्याउन पाएका छैनौँ’, महोत्तरी गाउँपालिका–६ गोरीगमाका ४५ वर्षीय भोला महतो भन्छन्,’चुनाव त भइ नै राखेका छन्, तर हाम्रो दुःख जहाँको त्यहीँ रह्यो।’
यो क्षेत्र बर्खाकालमा बाढी कटान/डुबान र हिउँदमा पानीको हाहाकारमा पर्ने गरेको छ । हिउँद अन्त्यतिर त सिँचाइका लागि मात्र नभएर कुनैकुनै वर्ष खानेपानीकै पनि हाहाकार पर्ने गरेको यहाँका बासिन्दा बताए।
यो समस्या भोग्दै आएका यहाँका बासिन्दा सरकारले खेतीपातीका लागि सिँचाइ सुविधा, समयमा बीउबिजन, मलखाद र सुलभ कृषि ऋणको व्यवस्थासँगै बाढीबाट जोगाउन पक्की बाँध (तटबन्ध) को प्रबन्ध गरी देओस् भन्ने चाहना भएको लोहारपट्टी–१ का रामसागर यादवको भनाइ छ।
आसन्न निर्वाचनका लागि यहाँ १५ राजनीतिक दलका र स्वतन्त्र २२ गरी जम्मा ३७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । चुनाव प्रचारप्रसारका क्रममा यस क्षेत्रका बासिन्दाबाट यस्तै समस्या आउने गरेको नेकपा (संयुक्त) बाट उम्मेदवार इदरिस मोमिनको भनाइ छ । ‘योजनाबद्ध तरिकाले काम हुन नसक्दा जनताका गुनासा बढेका हुन्, अब हामी सबैको साझा सङ्कल्पले निदान पहिल्याइन’ पर्दछु, उनले भने।
महोत्तरी–२ मा जसपा नेपाल, नेपाली कम्युनिस्ट पार्टी, राप्रपा नेपाल, नेपाल मजदुर किसान पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, उज्यालो नेपाल पार्टी, नेकपा (एमाले), नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी, जनादेश पार्टी नेपाल, राष्ट्र निर्माण दल, जनमत पार्टी, श्रम संस्कृति पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन र नेकपा संयुक्तका उम्मेदवार दलगत प्रतिस्पर्धा गर्दै छन्। यी दलका २२ जना स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा छन्।
यस क्षेत्रमा एक लाख सात हजार ५९४ मतदाता छन् । साथै ६२ मतदानस्थलमा १३३ मतदान केन्द्रको व्यवस्था गरिएको जिल्लाका मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले बताए। निर्वाचन अभियान अघि बढेसँगै यसलाई स्वच्छ र भयरहित सम्पन्न गर्न सुरक्षा व्यवस्था सुदृढ गरिएको जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको भनाइ छ।





