राष्ट्रपति पौडेल जापान प्रस्थान



काठमाडौँ, माघ १९ गते ।

राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरिएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीगण, सुरक्षा निकाय प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, नेपालका लागि जापानी राजदूतलगायतले राष्ट्रपति पौडेललाई बिदाई गरियो ।

राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी सविता पौडेल, नेपाल सरकारका उच्च अधिकारी र राष्ट्रपति कार्यालयका पदाधिकारी संलग्न हुनुहुन्छ । राष्ट्रपति पौडेल यही माघ २१ स्वदेश फर्कने तालिका छ ।

नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका अवसरमा राष्ट्रपति पौडेल आजै नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा जापान सरकारका तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउनुहुने कार्यक्रम छ ।

उनले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । सोही दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच पनि भेटवार्ता हुने कार्यतालिका छ । भ्रमणका क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।

यसैगरी जापानी व्यावसायिक समुदायसँगको बैठकमा सहभागिता जनाउनका साथै राष्ट्रपति पौडेलले जापानस्थित नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनुहुने छ । नेपाल–जापान सम्बन्ध अठारौँ शताब्दीको अन्त्यतिरबाट सुरु भएको हो । १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि यो सम्बन्ध औपचारिक भयो, जुन मित्रता, सद्भाव र सहयोगले चिनिन्छ । कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो । जापानको ओसाकामा नेपालको मानार्थ वाणिज्य दूतावाससमेत रहेको छ ।

जापानी बौद्ध भिक्षु, रेभ एकाइ कावागुची पहिलोपटक १८९९ मा पवित्र बौद्ध धर्मग्रन्थहरूको खोजीमा तिब्बतको बाटो हुँदै नेपाल आएको इतिहास छ । उनले जापानमा नेपालको परिचय गराएको र आफ्ना लेखन तथा प्रकाशनमार्फत जापानी जनतालाई लुम्बिनीको महत्व उजागर गरिएको इतिहासकारहरू बताए ।

नेपालमा राणा शासनकालमा सन् १९०२ मा आठ नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएकापछि नेपालीहरू जापानी संस्कृति र प्रविधिसँग नजिक भएको बताइन्छ । नेपाल र जापानबीच उच्चस्तरीय भ्रमण आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्न योगदान पु–याएको छ । पछिल्लो समय एकअर्का देशहरूमा उच्चस्तरीय भ्रमणहरू आदानप्रदान भइरहेका छन् ।

जापानका विदेशमन्त्री तारो कोनोको निमन्त्रणामा तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सन् २०१८ नोभेम्बर १ देखिसम्म जापानको औपचारिक भ्रमण गरिएको थियो । तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले एसियाली अफ्रिकी कानुनी परामर्शदाता सङ्गठनको ५७औँ सत्रमा भाग लिन २०१८ अक्टोबर ८ देखि १२ सम्म जापानको भ्रमण गरिएको थियो ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०१९ अक्टोबर २०–२२ सम्म टोकियोमा आयोजित सम्राट नारुहितोको राज्याभिषेक समारोहमा भाग लिन जापानको भ्रमण गरिएको थियो ।

यसैगरी जापानका विदेशमन्त्री तारो कोनोले २०१९ जनवरी ९ देखि १० सम्म नेपालको भ्रमण गरिएको थियो । तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा जापानकी विदेशमन्त्री सुश्री कामिकावा योकोले २०२४ मे ५ मा नेपालको औपचारिक भ्रमण गरिएको थियो ।

जापानले सन् १९५४ देखि नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पु–याउँदै आएको छ । जापानले नेपाललाई द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय सहायता र प्राविधिक सहयोगका रूपमा सहयोग गर्र्दै आएको छ । साथै नेपालको पूर्वाधार विकासका लागि सहुलियतपूर्ण ऋण पनि प्रदान गर्दै आएको छ ।

जापानले विद्युत् उत्पादन, सडक, पुल, खानेपानी सुविधा, दूरसञ्चारलगायत क्षेत्रहरूमा आधारभूत पूर्वाधारको सुधारलाई महत्व दिँदै आएको छ । सिन्धुली सडकको निर्माण जापानी विकास सहयोगअन्तर्गत प्रमुख परियोजनाहरूमध्ये एक हो । जापानले नेपाललाई कुलेखानी (१ र २) जलविद्युत् स्टेसन, कालीगण्डकी ‘ए’ जलविद्युत् स्टेसन, उदयपुर सिमेन्ट उद्योग र मेलम्ची खानेपानी परियोजना जस्ता परियोजनाहरूमा ऋण सहयोग प्रदान गरेको छ ।

यस्तै, पूर्वाधार विकासका लागि सहुलियतपूर्ण ऋण योजनाअन्तर्गत हाल सञ्चालनमा रहेका परियोजनाहरूमा नागढुङ्गा सुरुङ मार्ग, खानेपानी आपूर्ति सुधार परियोजना र चौबाटो सुधार परियोजना रहेका छन् ।

Scroll to Top