रुपन्देही, माघ १९ गते ।
चेम्बर अफ कमर्श, रुपन्देही उद्योग व्यापार सङ्गठन, रुपन्देहीले ट्राफिक व्यवस्थापनका लागि प्रयोग गरिने आवश्यक सामग्री हस्तान्तरण गरेको छ । संस्थाले आफ्नो १९औँ स्थापना दिवसका अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवालाई ‘सोल्जर लाइट’ र ज्याकेट सामग्री हस्तान्तरण गरेको हो ।
संस्थाको स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको सस्थाका अध्यक्ष सचिन रोक्काले बताए । उनले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका उपकरणमा पनि क्षति हुँदा आवश्यक सामग्री प्रदान गरिएको जानकारी दिए ।
अध्यक्ष रोक्काले चेम्बरले उद्योगी–व्यवसायीको हकहितसँगै सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आएको जानकारी दिए । संस्थाका सह–कोषाध्यक्ष तथा ट्राफिक सामग्री हस्तान्तरण कार्यक्रमका संयोजक सन्तोष शुक्लाले कार्यालयलाई ६५ सोल्जर लाइट र १५ थान ज्याकेट प्रदान गरिएको जानकारी दिए । उहाँले कार्यालयसँग समन्वय गरेर यहाँ आवश्यक सामग्रीबारे जानकारी लिई उक्त सामग्री प्रदान गरिएको जानकारी दिए । आगामी दिनमा पनि कार्यालयलाई आवश्यक सहयोग गरिने उनले प्रतिबद्धता व्यक्त गरियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीको प्रमुख प्रतिमा कार्कीले संस्थाले कार्यालयलाई ‘बहमूल्य सामग्री’ रहेको बताए । उनले समाजका लागि प्रहरीले काम गर्ने क्रममा चेम्बर अफ कमर्श, रुपन्देहीले सहयोग गर्नु सराहनीय रहेको भन्दै आभार व्यक्त गरियो ।
चेम्बर अफ कमशका महासचिव लक्ष्मी अधिकारीका अनुसार १९औँ स्थापना दिवसको अवसरमा संस्थाले सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको छ । जसअन्तर्गत योग ध्यान शिविर र मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न भइसकेको छ ।
वृद्धाश्रममा खाद्यान्न सामग्री वितरण, माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता,सरसफाइ कार्यक्रम र स्थापना दिवस समारोह तथा सम्मान कार्यक्रम आयोजना गरिएको महासचिव अधिकारीले जानकारी दिए ।





