काठमाडौँ, माघ २० गते ।
प्रभु बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ।
मंगलबार बसेको बैंक सञ्चालक समितिले सुमन शर्मालाई सीईओ नियुक्त गरेको हो।
उनको कार्यकाल ४ वर्षको रहने बैंकका कम्पनी सचिव अमित भण्डारीले जानकारी दिए। आजैदेखि उनको कार्यकाल लागू भएको छ।
यसअघिका सीईओ अशोक शेरचनले आइतबार राजीनामा बुझाएसँगै बैंकले नयाँ सीईओ नियुक्त गरेको हो। शर्मा यसअघि सनराइज बैंकको सीईओ रहिसकेका छन्। उनीसँग ग्लोबल आईएमई बैंकमा डेपुटी सीईओ, माछापुच्छ्रे बैंकमा सीईओका रुपमा काम गरेको अनुभव छ।
शेरचनलगायत बैंकका पदाधिकारीहरुमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट फन्डको कारोबारबारे छानबिन अघि बढाएपछि सीईओ पद रिक्त थियो।
पक्राउ परेका शेरचनसहित बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल, बैंकका कर्जा अधिकृत रिवास श्रेष्ठ, प्रभु ग्रुपका अध्यक्ष देवी भट्टचनलगायत अहिले विशेष सरकारी वकिल कार्यालयको निर्देशनमा रिहा भइसकेका छन्।





