झापा, फागुन ११ गते ।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा झापामा निर्वाचन आचारसंहिताविपरीतका गतिविधि बढ्न थालेपछि आचारसंहिता अनुगमन समितिले सबै पक्षलाई सचेत गराएको छ ।
मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलको संयोजकत्वमा आज बसेको जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकले चुनावी कार्यक्रमका क्रममा अस्वस्थ प्रतिस्पर्धा देखिन थालेकाले त्यस्ता गतिविधि तत्काल रोक्न आग्रह गर्ने निर्णय गरेको हो ।
राजनीतिक दल र उम्मेदवारले आयोजना गर्ने सभा, भेला, (याली, जुलुस, कोणसभा र घरदैलो अभियानमा एक–अर्काप्रति लाञ्छना लगाउने, गालीगलौज गर्ने, झण्डा वा ब्यानर जलाउने, घृणा वा द्वेष फैलाउने तथा हुलहुज्जत गर्नेजस्ता काम भइरहेको गुनासो प्राप्त भएको समितिले जनाएको छ ।
त्यसैगरी निजी घर, सार्वजनिकस्थल तथा अन्य स्थानमा आचारसंहिताविपरीत दल तथा उम्मेदवारका झण्डा, ब्यानर र प्रचार सामग्री राख्ने कार्य पनि बढेको भन्दै बैठकले त्यस्तो काम नगर्न÷नगराउन सबैलाई अनुरोध गरेको आचारसंहिता अनुगमन अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले जानकारी दिए ।
समितिले निर्वाचन आचारसंहिता–२०८२ को पूर्ण पालना गर्दै शान्तिपूर्ण, मर्यादित र व्यवस्थित ढङ्गले निर्वाचन गतिविधि सञ्चालन गर्न राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता र सर्वसाधारणलाई आह्वान गरेको छ । आचारसंहिता उल्लङ्घन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने पनि बैठकले स्पष्ट पारेको सप्रजिअ प्रसाईले बताए ।





