बन्यो भब्य अस्पताल भवन, छैन चिकित्सक आउने पत्तो



मकवानपुर, फागुन २७ गते ।

मकवानपुरको विकट कैलाश गाउँपालिकामा १० शैयाको आधारभूत अस्पतालको उद्घाटन भएको छ। संघीय सरकारको ६ करोड ५८ लाख ९९ हजार १ सय ७६ रुपैंया लगानीमा स्थापना भएको यो अस्पतालको बुधबार बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले उद्घाटन गरेका हुन् ।

अस्पतालमा २ जना चिकित्सकसहित २२ जनाको दरबन्दी रहेको भब्य अस्पताल भवन निर्माण सम्पन्न भए पनि दरबन्दी अनुसारको स्वास्थ्यकर्मी कहिले आउने भने टुङ्गो छैन।

अस्पतालमा ५ जना स्टाफ नर्स, २ जना अनमी, ३ जना हेल्थ असिष्टेन्ट, २ जना अहेव, १ जना कविराज, १ जना ल्याव टेक्निसियन, १ जना रेडियोग्राफर, १ जना फार्मेसी सहायक, १ जना डेन्टल हाइजिनिक, १ जना नासु, २ जना कार्यालय सहयोगी, १ जना सरसफाइकर्मी र १ जना सुरक्षाकर्मी रहेका छन्। तर हालसम्म स्वास्थ्य चौकीको दरबन्दी मात्रै रहेको कैलाश गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमले बताए।

अस्पतालमा इमरजेन्सी सेवासहित स्त्ररोग, बालरोग, दन्तरोग, छाला रोग, आयुर्वेद, आँखाजाँच, प्रयोगशाला, भिडियो एक्स–रे, इसिजी लगायतका सेवा उपलव्ध हुने जनाईएको छ । २१ हजार ८ सय ५६ जनसंख्या रहेको कैलाश गाउँपालिका मकवानपुर सदरमुकाम हेटौंडाबाट ४५ किलोमिटर टाढा छ ।

यो जिल्लाकै दुर्गम पालिकामध्येको एक कैलाश गाउँपालिका स्वास्थ्य सुविधामा पछि परेको स्थानीय तह हो। यहाँका स्थानीय उपचारका लागि जिल्ला सदरमुकाम हेटौंडा र मनहरी बजार पुग्नुपर्ने बाध्यता रहेको छ । स्थानीयस्तरमै अस्पताल स्थापना भएपछि स्वास्थ्य सेवामा पहुँच अभिबृद्धि हुने गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए।

अस्पताल स्थापना भएपछि कैलाश गाउँपालिकाको १० वटै वडा र राक्सिराङ गाउँपालिकाको वडा नम्बर ४ र ९ का बासिन्दा लाभान्वित हुने उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले बताए ।

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, गाउँपालिकाका उपाध्यक्ष ठकुरी, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठ, वडा अध्यक्ष राजेन्द्र घिसिङलगायतले अस्पतालमा विज्ञ चिकित्सकसहितको सेवा शुरु भएपछि स्थानीयले राहत पाउने धारणा व्यक्त गरेका थिए ।

अस्पताल आशिष/आर्शिवाद/स्वामी नारायण जेभीसंग २०७८ जेठ २७ गते निर्माण सम्झौता भई २०८२ असारमा निर्माण सम्पन्न भएको थियो । अढाई तल्ले अस्पताल भवनमा १० शैया रहेको छ।

Scroll to Top