जिप दुर्घटना हुँदा ६ जना घाइते, चालक पक्राउ

File Photo



नवलपरासी पूर्व, चैत १२ गते ।

नवलपुरमा गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

बुलिङटार गाउँपालिका–६ घुमरीघाटस्थित कालीगण्डकी करिडोर सडकखण्डमा गएराति लु.प्र.०१–००१ ज ०३६६ नम्बरको बलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार गएराति नारायणगढबाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको बोलेरो दुर्घटनामा परेको हो।

बोलेरोमा चालकसहित सात जना सवार थिए। त्यसमध्ये ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षम अनिल पण्डितले जानकारी दिए।

घाइते हुनेमा बुलिङटार–६ खजुरीकी २५ वर्षीया सपना कंडेल, तनहुँ घिरिङ–१ का २४ वर्षीय राजेश कुमाल, सोही ठाउँका २२ वर्षीय शीतल कुमाल, स्याङ्जा चापाकोट–९ की २८ वर्षीया अस्मिता देवकोटा, स्याङ्जा वालिङ–१० का २८ वर्षीय कृष्ण गैरे र पाल्पा रामपुर–२ सिताकुण्डकी १९ वर्षीया सलिना राना रहेका छन्।

गाडी चालक पाल्पा रामपुर नगरपालिका–२ का २९ वर्षीय ताराबहादुर नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घाइतेको रकुवा स्वास्थ्य चौकी डेढगाउँमा उपचार भइरहेको छ।

Scroll to Top