कार्की आयोगको प्रतिवेदन विवादास्पद : बार



काठमाडौं, चैत १२ गते ।

नेपाल बार एशोसियसनको आकस्मिक बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमाथि असहमतिसहित विरोध जनाउने निर्णय गरेको छ ।

प्रतिवेदनका कतिपय ठाउँमा स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतामाथि प्रहार भएको, कानुन व्यवसायीमाथि लान्छना लगाइएको र अन्य आपत्तिजनक विषयवस्तु समावेश भएको देखिएकाले विरोध गर्नु परेको नेपाल बार एशोसियसनका अध्यक्ष डा। विजयप्रसाद मिश्रले बताए ।

उनले भने, ‘तत्कालका लागि प्रारम्भिक रुपमा प्रतिवेदनमाथि असहमति जनाउँदै सर्वोच्च अदालत र त्यहाँका न्यायाधीशहरूमाथि ज्ञापन पत्र बुझाउने निर्णय भएको छ । प्रतिवेदनमाथि विस्तृत अध्ययन गर्न छुट्टै समिति बनाउने निर्णय समेत भएको छ ।’

बारले सर्वोच्च अदालतका कतिपय फैसलामाथि अस्वाभाविक टिकाटिप्पणी भएको, आत्मपरक रुपमा मनोमानी व्याख्या र विषयवस्तु समावेश भएको भन्दै छानबिन समितिका पदाधिकारीहरूको काम कारबाहीलाई कार्यादेश बाहिर गएर भएको काम भनी टिप्पणी गरेको छ ।

बारले जाँचबुझ आयोगको प्रतिवेदनबारे अध्ययन समितिको निष्कर्षपछि आफ्नो विस्तृत धारणा सार्वजनिक गरेको छ ।

Scroll to Top