तेस्रो राष्ट्रिय ‘हर्टिकल्चर एक्स्पो’ सुरु



काठमाडौँ, चैत १९ गते ।

यहाँ भृकुटिमण्डपमा आजदेखि तेस्रो ‘नेशनल हर्टिकल्चर एक्स्पो–२०८२’ सुरु भएको छ । नर्सरी व्यवसायको प्रवर्द्धन, कृषि उद्यमशीलताको विकास तथा रोजगारी सिर्जना गर्ने उद्देश्यसहित ‘एक्स्पो’ आयोजना गरिएको हो ।

नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा सुरु भएको मेला पाँच दिनसम्म सञ्चालन हुनेछ । मेलाले स्वदेशी उत्पादनको प्रवद्र्धन र बजार विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

मेलाको उद्घाटन गर्दै बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले पुष्प व्यवसायमा युवालाई आकर्षित गर्न लक्षित कार्यक्रमलाई प्राथमिकता दिइने बताए । उनले मल, बीउ, तालिमको अभाव तथा नर्सरी व्यवसाय सञ्चालनका लागि पर्याप्त जग्गा नहुँदा व्यवसायी समस्या भोग्नुपरेको उल्लेख गरियो ।

“यी समस्या समाधानका लागि हामीले केन्द्रीय सरकारको ध्यानाकर्षण गराएका छौँ”, मन्त्री पौडेलले भने, “तीनै तहका सरकारबीच समन्वय र सहकार्य भएमा यस्ता चुनौती समाधान गर्न सकिन्छ ।”

सङ्घका अध्यक्ष रामजीप्रसाद तिमल्सेनाले नर्सरी व्यवसायलाई देशव्यापी रूपमा विस्तार गर्नुपर्नेमा जोड दिँदै यसको सम्भावनाको अध्ययन र प्रवर्द्धनका लागि आवश्यक बजेट व्यवस्था गर्न सरकारसँग आग्रह गरियो ।

उनका अनुसार मेलामा देशभरका सात सयभन्दा बढी प्रजातिका बिरुवाहरू–फूल, फलफूल, कृषि वन तथा जडीबुटी नर्सरीका उत्पादन–प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् ।

सङ्घका मेला संयोजक रविनकुमार गौतमले नर्सरी क्षेत्रको वर्तमान अवस्थाबारे प्रस्तुत गरिएको तथ्याङ्कअनुसार देशभर तीन हजारभन्दा बढी नर्सरी व्यवसाय सञ्चालनमा रहेको जानकारी दिए । “यस क्षेत्रमा रु ११ अर्बभन्दा बढी लगानी रहेको छ । वार्षिक रु छ अर्बभन्दा बढी कारोबार हुने गरेको छ”, उनले भने, “प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब एक लाख २० हजारले रोजगारी पाएका छन् ।”

मेलाको सह–आयोजकमा पुष्प विकास केन्द्र, वनस्पती विभाग, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विभाग, पुल्चोक, राष्ट्रिय फलफूल विकास केन्द्र किर्तिपुर, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय बागमती प्रदेश रहेका छन् । मेलाको सहयोगीमा एजिए एग्रो, कुमारी फ्लोरा फार्म, गौतम नर्सरी, फ्लोरिकल्चर सहकारि संस्था र ग्रिस्मा नर्सरी साथै मेलास्थल सजावटको लागि उदय गार्डेन सेन्टर प्रालि र एभरेष्ट फ्लोरिकल्चर एण्ड भेजिटेबल फार्म रहेका छन् ।

Scroll to Top