चितवन, चैत २३ गते ।
नेपालमा कृषि अनुसन्धानका ठेलीहरू पुस्तकालयमा थन्किरहेका बेला एकजना अवकाशप्राप्त प्राध्यापक भने आफ्नै आविष्कार बोकेर खेतबारीमा उत्रिएका छन्।
कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा २३ वर्ष प्राध्यापन गरेका प्राडा ई भगवानदास मानन्धरले विकास गरेको काचाल्का ९डिस्क्रेट इरिगेट सिस्टम० सिँचाइ प्रविधि अहिले चितवनको भरतपुर–१६, विजयनगरमा चर्चाको विषय बनेको छ।
सन् १९९३ मा विद्यावारिधि गर्ने क्रममा रुसमा विकास भएको यो प्रविधिलाई मानन्धरले नेपालको माटो सुहाउँदो बनाएर आफ्नै ४ कट्ठा जग्गामा सुन कागती खेतीमार्फत प्रमाणित गरेर देखाएका छन्।
सामान्यतया कुलोबाट वा ट्याङ्कीबाट सिधै पानी लगाउँदा धेरै खेर जाने र बिरुवालाई आवश्यकताभन्दा बढी वा कम पानी हुने समस्या हुन्छ। तर काचाल्का प्रविधिले बिरुवालाई चाहिने ठिक्क मात्रामा पानी वितरण गर्छ। ढिकिच्याउ जस्तै गरी दायाँ–बायाँ ढल्किने स–साना डब्बाहरू प्रयोग गरिने यो प्रणालीमा एउटा डब्बा भरिएपछि मात्र अर्कोमा पानी जान्छ, जसले गर्दा पानीको बर्बादी हुँदैन।
झट्ट हेर्दा सामान्य सतह सिँचाइ जस्तो देखिए पनि यो प्रविधिको सिँचाइ दक्षता ९३ प्रतिशत र पानी वितरणको समानता ९५ प्रतिशतसम्म रहेको मानन्धरको दाबी छ।
लामो समय क्याम्पसमा विद्यार्थीलाई यो प्रविधि पढाए पनि व्यवहारमा कसैले लागू नगरेपछि उनी आफैँले जागिर छाडेर किसानको भूमिकामा फर्किएका हुन्। इटलीको मान्तोभामा समेत सफल परीक्षण भइसकेको यो प्रविधि थोपा वा स्प्रिङकलर सिँचाइभन्दा सस्तो र टिकाउ छ।
किसानले आफैँ मर्मत गर्न सक्ने र माटोको बनावट अनुसार पानी नियन्त्रण गर्न मिल्ने भएकाले यसलाई व्यावसायिक कृषिको मेरुदण्ड मानिएको छ।
अहिले मानन्धरले आफ्नै लगानी र श्रममा यो प्रविधिलाई किसानको घरदैलोसम्म पुर्याउने अभियान सुरु गरेका छन्, जसले सिँचाइमा हुने श्रम र खर्च दुवै घटाउने विश्वास गरिएको छ।





