खोलाको डाइभर्सन बगाउँदा सर्लाहीको हरिवनमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध



काठमाडौँ, चैत २६ गते ।

स्थानीय खहरे खोलाले डाइभर्सन बगाउँदा सर्लाहीको हरिवनमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।

हरिवनस्थित चापिनी खोलामा बनाइएको डाइभर्सन गएराति आएको बाढीले बगाएपछि बिहीबार बिहान चार बजेदेखि नै पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।

चारलेनमा बिस्तार भइरहेको पूर्वपश्चिम राजमार्गमा यतिबेला पुरानो पुलको ठाउँमा नयाँ पुल निर्माण हुँदैछ। चापिनी खोलामा पनि नयाँ पुल निर्माणको काम भइरहेकाले खोलामा डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन हुँदै आएको छ।

डाइभर्सन बगाएएकाले अब पूर्वपश्चिम राजमार्गकै पुरानो पुलबाट यातायात सञ्चालन गर्ने तयारी गरिएको प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले जानकारी दिए।

पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुँदा यतिबेला हरिवनमा दुईतर्फी नै सवारी साधनको लामो लाइन लागेको छ।

Scroll to Top