उपसभामुख बन्ने भइन् रुविकुमारी ठाकुर



काठमाडौं, चैत्र २६ गते ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल रास्वपाको समर्थनमा श्रम संस्कृति पार्टीकी रुविकुमारी ठाकुरले उपसभामुख पदमा मनोनयन दर्ता गरेकी छन् ।

शुक्रबार हुने उपसभामुख पदको निर्वाचनका लागि बिहीबार श्रम संस्कृतिकी रविकुमारी र राप्रपाकी सरस्वती लामाको उम्मेदवारी परेको छ ।

प्रतिनिधिसभामा आरामदायी बहुमत प्राप्त दल रास्वपाको समर्थनमा उम्मेदवारी दिएकी श्रम संस्कृतिकी २५ वर्षीया रुविकुमारी निर्वाचित हुने निश्चित छ । रविकुमारीको मनोनयन दर्तामा श्रम संस्कृतिकै आरेन राई प्रस्तावक र रास्वपाका कविन्द्र बुर्लाकोटी समर्थक छन् ।

यता राप्रपाबाट उम्मेदवारी दिएकी सरस्वती लामाको उम्मेदवारी दर्तामा प्रस्तावकमा राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही छन् भने समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरी छन् ।

संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गको व्यक्ति हुनुपर्नेछ । जसअनुसार सभामुख डीपी अर्याल रास्वपाबाट बनेका हुन् । उसले उपसभामुखमा दाबी गर्न नमिल्ने भएपछि रविकुमारीलाई समर्थन गरेको हो ।

प्रतिनिधिसभामा रास्वपा १८२ सांसदसहित सहज एकल बहुमतमा छ । कांग्रेसका ३८, एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसद छन् ।

Scroll to Top