वैदेशिक रोजगार विभागका नायब सुब्बा होमबहादुर पक्राउ

File Photo



काठमाडौं, चैत २८ गते

वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंका नायब सुब्बा होमबहादुर मनाङी पक्राउ परेका छन्।

विभागको अनुसन्धान तथा मुद्दा शाखामा कार्यरत नायब सुब्बा ३८ वर्षीय मनाङीलाई शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

मनाङीले वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा प्रक्रियामा सहजीकरण गरिदिन भनि घुस मागेर दुःख दिएको भन्ने उजुरी सेवाग्राहीले अख्तियारमा गरेका थिए।

सोही उजुरीका आधारमा शुक्रबार उनलाई सेवाग्राहीसँग १५ हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार विभाग कार्यालय परिसर भित्र रहेको अनुसन्धान तथा मुद्दा शाखाको कम्पाउन्डभित्रको शौचालयबाट बाहिर निस्कंदै गर्दा ‘सेवाग्राही प्रतिक्षालय’ नजिकबाट उनलाई साँझ ५ः५४ बजे नियन्त्रणमा लिइएको थियो।

उनको साथबाट थप ७७ हजार ६०० रूपैयाँ स्रोत नखुलेको रकम समेत बरामद भएको थियो। पक्राउ परेका मनाङीबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

Scroll to Top