काठमाडौँ, वैशाख ८ गते ।
बजार अनुगमनलाई प्रभावकारी बनाउँदै उपभोक्ताको अधिकार संरक्षण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप सक्रियता बढाएको छ।
कम मात्रामा फर्म वा व्यापारिक प्रतिष्ठानमा अनुगमन गर्दै आएको विभागले पछिल्ला दिनमा एकै पटक ठुलो सङ्ख्यामा अनुगमन गर्दै आएको हो।
यसै क्रममा विभागले सोमबार मात्रै काठमाडौँ महानगरपालिका–१ दरबारमार्ग र वडा नं. ३० को कमलपोखरी क्षेत्रका व्यावसायिक प्रतिष्ठान, फर्ममा अनुगमन गरेको छ । अनुगमनपछि विभागले सबै फर्मलाई सुधारात्मक निर्देशन दिएको छ।
उपभोक्ता अधिकारकर्मी तथा सरोकार भएका निकायका प्रतिनिधिको उपस्थितिमा विभागले नियमित अनुगमन गर्दै आएको जनाएको छ।
उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवं कारबाही गरिएको विभागले जनाएको छ।





