ट्रकमा कार ठोक्किँदा २ जनाको ज्यान गयो, ३ घाइते



काठमाडौं, वैशाख १३ गते ।

कपिलवस्तुमा नगरपालिका–१२ पिप्ररहवामा रोकिराखिएको ट्रकमा भारतीय नम्बरको कार ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–११ का ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६ की ५५ वर्षीया चिन्नी कुर्मी रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

दुर्घटनामा महाराजगन्ज नगरपालिका–११ का ६५ वर्षीय नन्दप्रसाद दुबे, शिवराज नगरपालिका–१० का २८ वर्षीय मोतीलाल कुर्मी र शिवराज नगरपालिका–११ का २० वर्षीय सुरेश कुर्मी घाइते छन् । उनीहरुको उपचार जारी छ ।

बहादुरगञ्जबाट तौलिहवातर्फ जाँदै गरेको यूपी ३२ सीए ८३४३ नम्बरको स्कार्पियो गाडी अनियन्त्रित भई सडक किनारमा रोकिराखेको लु १ ख ९५४९ नम्बरको ट्रकमा ठोक्किएको थियो ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Scroll to Top