काठमाडौँ, वैशाख १७ गते ।
शिभाली गुरुङ र स्वस्तिका विष्ट १२औँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिङ्गल्समा आज फाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको खेलमा शिभालीले प्राज्ना मानन्धरलाई ६–० र ६–१ तथा स्वस्तिकाले प्रकृति श्रेष्ठलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गररी फाइनलमा प्रवेश गरेका हुन् ।
पुरुष सिङ्गल्समा प्रदीप खड्का र दर्शिल श्रेष्ठले उपाधि भिडन्त पक्का गरेका छन् । सेमिफाइनलमा प्रदीपले आयुशमान हजुर घलेलाई ६–३, ६–७ र ६–१ तथा दर्शिलले प्रणव मानन्धरलाई ६–० र ६–० को सेटमा हराएका हुन् ।
सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौँ जिल्ला टेनिस सङ्घद्वारा आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिङ्गल्समा पूर्वसिङ्गल्स राष्ट्रिय च्याम्पियन जीतेन्द्र परियारले भीष्मजङ्ग गुरुङलाई ६–४ र ६–१ तथा सन्तोष खत्रीले दावा सोनाम शेर्पालाई ६–२ र ७–५ ले पाखा लगाउँदै फाइनलमा पुगेका छन् ।
उक्त स्पर्धाको पुरुष डबल्समा भीष्मजङ्ग गुरुङ र गगन महर्जनको जोडीले निरज रेग्मी र ईश्वर जिसीको जोडीलाई ६–१ र ६–२ तथा जीतेन्द्र परियार र छेवाङ लामाको जोडीले सन्तोष खत्री र जुजुमन किमको जोडीलाई ६–२ र ६–४ ले पन्छ्याउँदै फाइनलमा स्थान सुरक्षित गरेका छन् ।
भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा भएको भेट्रान ७० वर्षमाथि पुरुष सिङ्गल्सको उपाधि धीरबहादुर गुरुङले जितेका छन् । उनले फाइनलमा ज्ञानेन्द्रमान ताम्राकारमाथि ५–४ र ४–० को जित रचेका हुन् ।
भेट्रान ४५ वर्षमाथि पुरुष सिङ्गल्समा देव क्षेत्रीले महेश श्रेष्ठलाई ७–५ र ६–३ तथा रोहित सुनुवराले अमितसिंह गुरुङलाई ६–३ र ६–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरे । सो स्पर्धाको पुरुष डबल्समा रोहित सुनुवार र महेश श्रेष्ठको जोडीले नवाङ लामा र राजेन्द्र भाटियाको जोडीलाई ६–२ र ६–० तथा अमितसिंह गुरुङ र देव क्षेत्रीको जोडीले सुकमान तामाङ र अञ्जन बानियाँको जोडीलाई ६–० र ६–२ ले हराउँदै फाइनल भीडन्त निश्चित गरे ।
भेट्रान ५५ वर्षमाथि पुरुष सिङ्गल्समा चन्द्र शाहीले उत्तम बोगटीलाई ६–० र ६–२ विमलकुमार गुरुङले मच्छिन्द्र थापालाई सीधा सेटमा ६–१ र ६–१ ले पाखा लगाउँदै फाइनलमा स्थान बनाए । स्पर्धाको पुरुष डबल्समा चन्द्र शाही र सोभितमान श्रेष्ठको जोडीले सागर केसी र निरञ्जनकुमार श्रेष्ठको जोडीलाई ६–२ र ६–० तथा मनु त्रिपाठी र पृथ्वीमान गुरुङको जोडीले धर्म शाही र आशिष सिग्देलको जोडीलाई ६–१, ३–६ र १३–११ ले पन्छ्याउँदै फाइनलमा प्रवेश गरे ।
भेट्रान ६५ वर्षमाथि पुरुष सिङ्गल्समा ध्रुवबहादुर गुरुङले वाल्टर स्मितलाई ६–१, ३–६ र १०–६ तथा कमल थापाले पवित्रजङ्ग रायमाझीलाई ६–१ र ६–० ले पराजित गरी फाइनल यात्रा तय गरे । सोही उमेरसमूहको पुरुष डबल्समा कमल थापा र छ्याम्बा डुन्डुपको जोडीले प्रेमप्रकाश थापा र पवित्रजङ्ग रायमाझीको जोडीलाई ६–२ र ६–० तथा ध्रुवबहादुर गुरुङ र रवीन्द्रदास श्रेष्ठको जोडीले दीपक श्रेष्ठ र ज्ञानेन्द्रमान ताम्रकारको जोडीलाई ६–० र ६–२ ले पाखा लगाउँदै फाइनलमा पुगेका छन् ।
प्रतियोगितामा १३ स्पर्धा समावेश छन् । शुक्रबार ११ स्पर्धाको फाइनल हुने आयोजकले जनाएको छ । अन्तिम दिन शनिबार पुरुष/महिला सिङ्गल्सको फाइनल हुनेछ ।





