त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास सम्पन्न



काठमाडौँ, वैशाख १७ गते ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज विमान दुर्घटनापछि गरिने उद्धारसम्बन्धी आपत्कालीन अभ्यास गरिएको छ ।

अन्तरराष्ट्रिय नागरिक उडड्यन मापदण्डअनुसार नियमित रूपमा गरिने यस्तो अभ्यासले सम्भावित विपद्का बेला समन्वय, दक्षता र तत्परतामा सुधार ल्याउने विश्वास गरिएको छ ।

अन्तरराष्ट्रिय नागरिक उड्डयन सङगठनका मापदण्ड तथा विमानस्थलको आपत्कालीन योजनाअनुसार प्रत्येक दुई वर्षमा पूर्णस्तरको अभ्यास सञ्चालन गरिँदै आएको विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।

अभ्यासका क्रममा विमान दुर्घटनाको काल्पनिक दृश्य सिर्जना गरी आगलागी नियन्त्रण, घाइतेको उद्धार, प्राथमिक उपचार, अस्पतालसम्म सुरक्षित स्थानान्तरण तथा घटनास्थल व्यवस्थापनजस्ता अभ्यास गरिएको थियो ।

उक्त अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयका कर्मचारी, दमकल सेवा, एम्बुलेन्स टोली तथा अन्य सरोकारवाला निकायको सहभागिता थियो ।

महाप्रबन्धक सिटौलाका अनुसार यस्तो अभ्यासले आकस्मिक अवस्थामा देखिन सक्ने कमजोरी पहिचान गरी सुधार गर्न मद्दत पुयाउनेछ । “वास्तविक दुर्घटना हुँदा क्षणिक निर्णय, स्रोत व्यवस्थापन र प्रभावकारी समन्वय अत्यन्त महत्त्वपूर्ण हुन्छ । त्यसैले यस्ता अभ्यासले तयारीलाई अझ मजबुत बनाउँछ”, उनले भने ।

Scroll to Top