काठमाडौं, जेठ ९ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्पत्ति शुद्धीकरण एवं सङ्गठित अपराधको अभियोग संशोधन हुने भएपछि खुशी लागेको प्रतिक्रिया दिएका छन् ।
जिल्ला अदालत कास्कीले सम्पत्ति शुद्धीकरण एवं सङ्गठित अपराधको अभियोग संशोधन गरेपछि उनले खुशी लागेको प्रक्रिया दिएका हुन् ।
‘मैले आदेश पढ्न पाएको त छैन । अदालतकै आदेशमा हामी चल्नु पर्ने हुन्छ’, सभापति लामिछानेले सञ्चारकर्मीसँग भने, ‘म खुशी छु यसमा ।’
लामिछानेले कास्कीबाट निर्णय भए पनि लडाइँ अझै जारी रहेको पनि बताए । अन्य जिल्लाहरूमा आफूविरूका मुद्दाहरू अझै बाँकी रहेका उनको भनाइ थियो ।
‘लडाइँ त मेरो अझै पनि बाँकी छ । अन्य जिल्लाहरू पनि जानु पर्ने छ,’ सभापति लामिछानेले भने, ‘एउटा जिल्लाबाट न भर्खर भएको हो । कास्कीबाट भएको थाहा पाएको छु । खुशी छु ।’
जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले शुक्रबार जारी गरेको आदेशमा भनिएको छ, ‘निवेदन मनासिव देखिँदा सम्बन्धित मूल, थप र पूरक अभियोगपत्रहरूमा सहकारी ठगीको अभियोग दाबी कायम राखी अन्य सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतको अभियोग नरहने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम संशोधन गरिदिएको छ ।’
सुशीला कार्की नेतृत्वको चुनावी सरकारकी महान्यायाधिवक्ता सविता भण्डारी बरालले गत पुसको अन्तिम साता रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाहरूमध्ये सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन् ।
त्यही निर्णयका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले जिल्ला अदालतमा अभियोग संशोधनका लागि निवेदन दिएको थियो । निर्णयको साढे चार महिनापछि जिल्ला अदालतले अभियोगपत्र संशोधन गर्ने निर्णय गरेको हो । अब कास्कीमा रवि लामिछानेमाथि सहकारी ठगीको अभियोग मात्र बाँकी छ ।





