नेपालमा बढ्दैछन् डाक्टर र नर्स



काठमाडौं, जेठ १४ गते ।

नेपालमा प्रति हजार जनसंख्यामा डाक्टर र नर्सको संख्या बढ्दै गएको देखिएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार देशभर प्रति हजार जनसंख्यामा १ दशमलव ८६ डाक्टर र ४ दशमलव ४२ नर्स उपलब्ध रहेका छन् ।

नेपाल मेडिकल काउन्सिल तथा नेपाल नर्सिङ काउन्सिलमा २०८२ फागुनसम्म दर्ता भएका स्वास्थ्यकर्मीको आधारमा तयार गरिएको तथ्यांकले स्वास्थ्य जनशक्तिको पहुँच विस्तार हुँदै गएको संकेत गरेको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा प्रति हजार जनसंख्यामा डाक्टरको संख्या १ दशमलव र नर्सको संख्या २ दशमलव ८६ मात्रै रहेको थियो ।

आर्थिक सर्वेक्षणले देशभर सरकारी स्वास्थ्य संस्थाको संख्या पनि विस्तार हुँदै गएको देखाएको छ । हाल सरकारी स्तरमा कुल ८ हजार ९७६ स्वास्थ्य संस्था सञ्चालनमा रहेका छन् । तीमध्ये ४२० अस्पताल रहेका छन् भने १८१ प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । त्यस्तै ३ हजार ६०३ स्वास्थ्यचौकी, ४२६ आयुर्वेदिक औषधालय, ४ हजार ३४६ उपस्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र रहेका छन् ।

सरकारी स्वास्थ्य संस्थामा हाल १८ हजार ६४० शय्या उपलब्ध रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । ती संस्थामा कुल १ लाख ४७ हजार ७५६ स्वास्थ्य जनशक्ति कार्यरत रहेका छन् । जसमा ७ हजार ३० डाक्टर कार्यरत छन् भने २८ हजार ६५० नर्स तथा अनमी सेवा दिइरहेका छन् ।

त्यसैगरी ६८४ कविराज, ६९३ वैद्य, १६ हजार ३१३ स्वास्थ्य सहायक तथा ५१ हजार ३८६ महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य सेवामा सक्रिय रहेका छन् । विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पुर्याउन महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण हुन्छ ।

सर्वेक्षणले स्वास्थ्य पूर्वाधार र जनशक्ति दुवै विस्तार भएको देखाएपनि विशेषज्ञ चिकित्सकको अभाव, दुर्गम क्षेत्रमा जनशक्ति टिकाइराख्ने चुनौती तथा अस्पतालमा उपकरण अभाव जस्ता समस्या अझै कायम छन् ।

विशेषगरी काठमाडौं बाहिरका जिल्लामा विशेषज्ञ डाक्टर र दक्ष नर्सको अभावले स्वास्थ्य सेवा प्रभावित हुने गरेको छ ।

Scroll to Top