द पब्लिक टुडे
जनकपुरधाम, असार ३ गते ।
नेपाल क्षयरोग निवारण संस्था धनुषा जिल्ला शाखाले क्षयरोग निवारण अभियानलाई विद्यालय तहसम्म प्रभावकारी रूपमा विस्तार गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगरपालिका–११ स्थित अरनिको सेकेन्ड्री बोर्डिङ्ग स्कूलमा ‘जुनियर नाटा’ इकाइ गठन गरेको छ।
बुधबार आयोजित पाँचदेखि नौ कक्षासम्मका ५१ जना विद्यार्थीहरूको भेलाले विवेककुमार महासेठको संयोजकत्वमा १५ सदस्यीय जुनियर नाटा अरनिको सेकेन्ड्री बोर्डिङ्ग स्कूल गठन गरेको हो।
नवगठित समितिको उपसंयोजकमा सोनाक्षी ठाकुर, सचिवमा सुवेश्वर यादव, कोषाध्यक्षमा आयुषि पटेल तथा सहसचिवमा अनुष्का शर्मा चयन भएका छन्। सदस्यहरूमा ऋषि साह, आर्या ठाकुर, प्रिन्स साह, रिया साह, प्रिन्स साह (ए), शालु ठाकुर, दीपेश महतो, सत्यम राय, नेहा साह र मो. हासिर शेख रहेका छन्।
नेपाल क्षयरोग निवारण संस्था धनुषा शाखाका सभापति सन्तकुमार कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अरनिको सेकेन्ड्री बोर्डिङ्ग स्कूलका प्रिन्सिपल दीपेन्द्रकुमार झा, संस्थाका पूर्व केन्द्रीय सदस्य दिनेश शर्मा तथा शिक्षकहरू जितेन्द्र यादव, महेन्द्र साह र अर्जुनकुमार झाको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै शाखा सभापति कार्कीले विद्यालयस्तरबाटै पनि क्षयरोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्न जुनियर नाटा गठन गरिएको बताए । उनले नवगठित समितिका पदाधिकारी तथा सदस्यहरूलाई आगामी शुक्रबार क्षयरोग विशेषज्ञबाट क्षयरोगको पहिचान, रोकथाम र उपचारसम्बन्धी अभिमुखीकरण प्रदान गरिने जानकारी दिए ।
संस्थाले विद्यालय तहका विद्यार्थीलाई स्वास्थ्य सचेतना अभियानमा सक्रिय सहभागी बनाउँदै क्षयरोगमुक्त समाज निर्माणको अभियानलाई थप सशक्त बनाउने लक्ष्य लिएको जनाएको छ।





