नसर्ने रोगको जोखिम घटाउन समुदायमा सचेतना



नेपालगञ्ज, असार ६ गते ।

नसर्ने रोगको बढ्दो जोखिमलाई न्यूनीकरण गर्न समुदायमा सचेतना अभिवृद्धि गर्न थालिएको छ ।

पछिल्लो समय उच्च रक्तचाप, मधुमेह, मुटुरोग, क्यान्सर र श्वासप्रश्वाससम्बन्धी दीर्घरोगका बिरामीको सङ्ख्या बढ्दै गएपछि रोकथामका उपायबारे जनचेतना फैलाउने उद्देश्यले बाँकेको राप्तीसोनारी गाउँपालिकामा सचेतानमूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले स्थानीय सरकारले नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न समयमा निःशुल्क स्क्रिनिङ, जनचेतना तथा विभिन्न सचेतनाका कार्यक्रम गर्दै आइरहेको जानकारी दिए ।

भेरी अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा राजन पाण्डेले नसर्ने रोग रोकथामका लागि जीवनशैली बदल्ने कुरा चुनौतीपूर्ण रहेको उल्लेख गर्दै खानपिन र शारीरिक अभ्यास गर्न सुझाव दिए ।

उनले नसर्ने रोगको प्रमुख कारण अस्वस्थ खानपान, शारीरिक गतिविधिको कमी, धुमपान, मद्यपान तथा तनावपूर्ण जीवनशैली भएकोमा जोड दिँदै रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने तर जीवनशैलीसँग प्रत्यक्ष सम्बन्धित भएकाले समयमै सचेतना अपनाउनसके जोखिम कम गर्न सकिने उल्लेख गरियो ।

पछिल्लो तथ्याङ्कअनुसार समुदायमा सर्ने रोगभन्दा नसर्ने रोगबाट मानिसको मृत्यु हुने सङ्ख्यामा उल्लेखनीय वृद्धि हुँदै गइरहेको भन्दै उनले सुगर, प्रेसर, क्यान्सर, मुटु, मानसिक समस्यालगायतका नसर्ने रोगका कारण भयावह स्थिति आउन नदिन, न्यूनीकरण गर्न तथा रोकथामका लागि समयमै चेकजाँच गर्नुपर्ने, उपचारको दायरामा ल्याउने र निरोगी व्यक्तिलाई रोग लाग्नैबाट जोगाउन विभिन्न सचेतनाका कार्यक्रम महत्वपूर्ण हुने डा पाण्डेले बताए ।

उनले नसर्ने रोगबाट जोगिनका लागि गुलियाजन्य पदार्थ, सुर्तीजन्य पदार्थ, मदिरा, नुनिलो, चिल्लोजन्य पदार्थको प्रयोग र सेवनमा पूर्णतया बन्देज गर्न आवश्यक भएको धारणा व्यक्त गरियो ।

उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सचिव तथा अधिवक्ता वसन्त गौतमले नसर्ने रोग रोकथामका लागि स्वास्थ्यकर्मी तथा सरोकारवालाई क्षमता अभिवृद्धि तालिम प्रदान गर्नुका साथै सुर्तीजन्य पदार्थको रोकथाम तथा नियमन र यसको न्यूनीकरण तथा मदिराको नियमन र असरका न्यूनीकरणसम्बन्धी कार्यक्रम आवश्यक भएको बताए ।

उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष सुरेश गौतमले पछिल्लो समय स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमले सकारात्मक प्रभाव पारेको बताउँदै स्वस्थ जीवनशैली अपनाउने बानीको विकास भएमा नसर्ने रोगबाट हुने मृत्यु तथा स्वास्थ्य जटिलता उल्लेखनीय रूपमा घटाउन सकिने विश्वास गरिएको बताए ।

होप ट्रेनिङ एण्ड रिसर्च सेन्टरका अध्यक्ष राजन गौतमले नसर्ने रोग घटाउन तथा रोकथामका लागि सरोकारवालाको क्षमता अभिवृद्धि गरी पैरवी, अनुगमन र कानुनी विशेषज्ञतामार्फत स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

राप्तीसोनारी गाउँपालिकाको सहयोग, साइविरियमको प्राविधिक समन्वय तथा होप ट्रेनिङ एण्ड रिसर्च सेन्टर र उपभोक्ता हित संरक्षण मञ्चको आयोजनामा उक्त कार्यक्रम आयोजना भएको हो ।

Scroll to Top