द पब्लिक टुडे
गौशाला, असार १७ गते ।
महोत्तरीको बर्दिबास नगरपालिका–३, गौरीडाँडा स्थित सनसाइन सेकेन्डरी स्कुललाई प्रतिष्ठित ‘राष्ट्रिय शिक्षा सम्मान–२०८३’ प्राप्त भएपछि विद्यालयमा बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।
मंगलवार स्कुल परिसरमा आयोजित कार्यक्रममा विद्यालयका शिक्षकशिक्षक, पत्रकारहरुको उपस्थिती बधाई तथा सम्मान गरिएको छ ।
काठमाडौंमा आयोजित समारोहमा फोकस नेपालद्वारा राष्ट्रिय शिक्षा सम्मान प्राप्त गरी फर्किएका विद्यालयका फाउन्डर प्रिन्सिपल दिप प्रकाश रायमाझीलाई विद्यालय परिवारले खादा, अबिर र सम्मानपत्रसहित भव्य स्वागत गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै फाउन्ड प्रिन्सिपल दिप प्रकाश रायमाझिले यो सम्मान विद्यालयको एकल उपलब्धि नभई शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूको सामूहिक मेहनत, विश्वास र निरन्तर सहयोगको प्रतिफल भएको बताए ।

प्रिन्सिपल रायमाझीले प्राप्त सम्मान आफ्नो व्यक्तिगत उपलब्धिभन्दा पनि बर्दिबास नगर र समग्र महोत्तरी जिल्लाकै शैक्षिक क्षेत्रका लागि गर्वको विषय भएको बताए ।
उनले शिक्षकहरूको अथक परिश्रम, विद्यार्थीहरूको उत्कृष्ट प्रदर्शन तथा अभिभावकहरूको निरन्तर सहयोगकै कारण विद्यालयले राष्ट्रिय स्तरमा सम्मान प्राप्त गर्न सफल भएको उल्लेख गरे ।
प्राप्त सम्मानले विद्यालयलाई अझ जिम्मेवार बनाएको उल्लेख गर्दै आगामी दिनमा गुणस्तरीय, व्यवहारिक, प्रविधिमैत्री तथा जीवनोपयोगी शिक्षामार्फत दक्ष, अनुशासित र प्रतिस्पर्धी नागरिक उत्पादन गर्ने लक्ष्यमा अझ दृढताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले आगामी दिनमा पनि गुणस्तरीय शिक्षालाई सर्वोच्च प्राथमिकतामा राखी उत्कृष्ट नतिजा हासिल गर्ने, विद्यार्थीमैत्री वातावरण निर्माण गर्ने तथा समाजप्रति उत्तरदायी शैक्षिक संस्था बन्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य राजकरण महतोले सनसाइन सेकेन्डरी स्कुलले शैक्षिक गुणस्तर, अनुशासन, अतिरिक्त क्रियाकलाप, आधुनिक शिक्षण पद्धति तथा विद्यार्थीको सर्वाङ्गीण विकासमा पु¥याएको योगदानकै आधारमा राष्ट्रिय सम्मान प्राप्त गर्न सफल भएको उल्लेख गरे । यस्तो सम्मानले सम्पूर्ण विद्यालय परिवारलाई थप उत्साहित बनाउनुका साथै शिक्षा क्षेत्रमा अझ उत्कृष्ट कार्य गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले ताली बजाउँदै फाउन्डर प्रिन्सिपल रायमाझीलाई स्वागत गरेका थिए भने विद्यालय परिवारले सम्मानपत्र हस्तान्तरण, खादा ओढाएर तथा शुभकामना व्यक्त गर्दै उपलब्धिको खुसी साटासाट गरेको समाचार आजको द पब्लिक टुडे मा प्रकाशित भएको छ ।





