काठमाडौं, असार २० गते ।
मोरङमा सिटी अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
मोरङको लेटाङ नगरपालिका–५ कानेपोखरीस्थित सडकमा अनटेस्ट सिटी अटो अनियन्त्रित भई दुर्घटना भएको हो ।
शनिबार मध्यान्ह करिब ११ः५५ बजे कानेपोखरीबाट लेटाङतर्फ जाँदै गरेको अवस्थामा उक्त सिटी अटो दुर्घटना भएको प्रहरीले जनाएको छ । अटोमा चार जना सवार रहेको र दुर्घटनास्थलमा सबै घाइते रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको टोलीले चारै जना घाइतेलाई उद्धार गरी एपेक्स अस्पताल, लेटाङ पठाएको थियो । जसमध्ये गम्भीर घाइते रहेका लेटाङ नगरपालिका–६ का ६० वर्षीय मुनराज लावतीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
यस्तै, घाइतेमा हुनेमा अटो चालक लेटाङ नगरपालिका–६ का ४० वर्षीय वीरबहादुर राई, सोही ठाउँकी २७ वर्षीया शान्ति राई र लेटाङ नगरपालिका–५ की ५० वर्षीया अनु राई रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरू तीनै जनाको एपेक्स अस्पताल, लेटाङमा उपचार भइरहेको छ ।





