काठमाडौँ, साउन १ गते ।
टिपरको ठक्करबाट एक जना पैदलयात्रीको आज मृत्यु भएको छ । मोरङको केराबारी गाउँपालिका–५ की ७० वर्षीया विष्णुमाया मगरको आज बिहान टिपरको ठक्करबाट मृत्यु भएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार केराबारी गाउँपालिका–५ शान्ति चोकस्थित सडकमा केराबारीबाट धरानतर्फ जाँदै गरेको को१ख ६७९० नम्बरको टिपरको ठक्करबाट पैदलयात्री मगरको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते हुनुभएकी मगरको घोपा धरान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
त्यसैगरी, सुनसरीको इनरूवा नगरपालिका–८ खोरियाटोलस्थित पुथौधारा खोलामा डुबेर सोही ठाउँका उपेन्द्र साहको छोरा १४ वर्षीय कृष्ण साहको आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । नुहाउने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





