युवा ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल



काठमाडौँ, साउन १ गते ।

युवा, श्रम तथा रोजगार मन्त्रालयमा ‘युवा ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथि आज छलफल भएको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा गरिएको छलफलमा राष्ट्रिय युवा परिषद्, नेपाल युथ क्लब, युवा वकालत नेपाललगायत युवाको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

मन्त्री यादवले युवाहरूका क्षेत्रमा यसअघि भएका प्रभावकारी कामलाई मध्यनजर गर्दै विगतमा नेपालले गरेका सकारात्मक विषयलाई विधेयकमा सम्बोधन गरिने बताए । उनका अनुसार युवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न छलफल सुरु गरेको हो ।

छलफलमा मन्त्रालयका सचिव दीपक काफ्ले, पूर्वसचिव रामप्रसाद थपलिया, मन्त्रालयका सहसचिवहरू बाबुराम भण्डारी, मनिता श्रेष्ठ, वैदेशिक रोजगार बोर्डका सहसचिव चन्द्रबहादुर शिवाकोटी, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दीपेश घिमिरे, नेपाल कानुन आयोगका उपसचिव जलेश्वर रामलगायत व्यक्तित्वको उपस्थिति थियो ।

छलफलमा सहभागीहरूले युवाले विभिन्न क्षेत्रमा गरेका कामको मूल्याङ्कन गर्दै सम्मानजनक उपस्थितिका लागि ऐनमा ती विषय समेटिनुपर्ने, अन्य देशहरूले युवाको क्षेत्रमा गरेका सकारात्मक कदमलाई पनि समेट्नुपर्ने सुझाव राखेका छन् ।

Scroll to Top