रोहित यादव
बर्दिबास, साउन ५ गते ।
पब्लिक टुडे पब्लिकेशन प्रा.लि.ले पत्रकार राजकरण महतोलाई ग्रुप एडिटरमा नियुक्त गरेको छ । पब्लिकेशनको सञ्चालक समितिको २०८३ असार ३२ गतेको निर्णयअनुसार साउन १ गतेदेखि लागू हुने गरी महतोलाई ग्रुप एडिटर पदमा नियुक्त गरिएको पब्लिकेशनका अध्यक्ष रामनारायण महतोले जानकारी दिए ।
नवनियुक्त ग्रुप एडिटर महतोले सोमबार बर्दिबासस्थित कार्यालयमा आयोजित कार्यक्रममा नियुक्तिपत्र बुझ्दै औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । करिब दुई दशकदेखि पत्रकारिता तथा आमसञ्चार क्षेत्रमा निरन्तर सक्रिय रहँदै हासिल गरेको व्यावसायिक अनुभव, सम्पादकीय नेतृत्व, तथ्यपरक तथा उत्तरदायी पत्रकारिताप्रतिको प्रतिबद्धता, आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर तहको शैक्षिक योग्यता तथा सञ्चार क्षेत्रको संस्थागत विकासमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै महतोलाई उक्त जिम्मेवारी प्रदान गरिएको नियुक्तिपत्रमा उल्लेख छ ।
ग्रुप एडिटरका रूपमा महतोले पब्लिक टुडे पब्लिकेशनअन्तर्गत सञ्चालित द पब्लिक टुडे दैनिक, द पब्लिक टुडे डटकम, महोत्तरी अपडेट साप्ताहिक, रेडियो पब्लिक ९३.३ मेगाहर्ज, गौशाला तथा रेडियो दर्पण ८८.४ मेगाहर्ज, बर्दिबासको समग्र सम्पादकीय नेतृत्व सम्हाल्नेछन् । नियुक्तिपत्र प्रदान गर्दै अध्यक्ष रामनारायण महतोले नवनियुक्त ग्रुप एडिटरको व्यावहारिक पत्रकारिता अनुभव, सम्पादकीय दूरदृष्टि, व्यवस्थापकीय क्षमता तथा व्यावसायिक निष्ठाको समुचित उपयोगबाट पब्लिकेशनअन्तर्गत सञ्चालित सम्पूर्ण सञ्चारमाध्यमको सम्पादकीय गुणस्तर, विश्वसनीयता, अनुसन्धानमूलक पत्रकारिता, संस्थागत सुशासन तथा सार्वजनिक विश्वासलाई थप सुदृढ बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरे ।
नवनियुक्त ग्रुप एडिटर महतोले आफूलाई प्रदान गरिएको जिम्मेवारीलाई निष्पक्ष, व्यावसायिक र उत्तरदायी पत्रकारिताको मूल्य–मान्यताअनुरूप निर्वाह गर्दै पब्लिकेशनका सम्पूर्ण सञ्चारमाध्यमको सम्पादकीय स्तरलाई अझ प्रभावकारी, विश्वसनीय र जनउत्तरदायी बनाउन प्रतिबद्ध रहने बताएका छन् । उनले पब्लिक टुडे पब्लिकेशनलाई अझ विश्वसनीय, प्रभावकारी र पाठक–श्रोता–दर्शकमैत्री सञ्चार संस्थाका रूपमा स्थापित गर्न सम्पूर्ण टिमसँग सहकार्य गर्दै अघि बढ्ने बताए । नवनियुक्त ग्रुप एडिटर महतो करिब दुई दशकदेखि पत्रकारिता तथा आमसञ्चार क्षेत्रमा सक्रिय छन् । आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका उनी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत हुन् ।





