राजकरण महतो
बुधबार साँझ महोत्तरीको बर्दिबास नगरपालिका–१२, बिजलपुरा चल्कीमा ८ वर्षीय विवेक कापर घरछेउको अम्बाको रुखमा फल टिप्दै थिए। बालसुलभ उत्साहका बीच एकाएक विषालु सर्पले उनलाई टोकेको कसैले पत्तै पाएन । परिवारले तत्काल उपचारका लागि अस्पताल पुर्यायो। सबैको एउटै आशा थियो—विवेक बच्नेछन्। तर, उनले बिहिवार एकाविहानै प्राण त्यागे ।
चन्दन कापरका ८ वर्षीय छोरा विवेक कापरको बर्दिबास जनसेवा अस्पतालमा भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको हो । बर्दिबास नगरपालिका -१२ का वडा सदस्य रुपो देवी सदाका अनुसार विषालु सर्पको टोकाइपछि उनको अवस्था गम्भीर बनेको थियो।
बालककी आमा अमृतदेवी कापरले आँसु झार्दै भनिन्, “घरमै आँप टिप्ने क्रममा सर्पले टोकेको थियो। बचाउन सकिन्छ कि भनेर तुरुन्त अस्पताल ल्यायौं, तर मेरो छोरा फर्किएन।” विवेकको मृत्युसँगै परिवारमाथि अर्को ठूलो पीडा थपिएको छ। उपचारका क्रममा करिब ७० हजार रुपैयाँ खर्च भएको पीडित परिवारको भनाइ छ। अत्यन्त कमजोर आर्थिक अवस्थाका कारण उक्त रकम तिर्न नसक्दा अस्पतालबाट शवसमेत बुझ्न नसकेको परिवारले जनाएको छ।
अस्पतालका सञ्चालक सुमन भुजेल अस्पतालले मानवीय आधारमा उपचार खर्चमा १५ प्रतिशत छुट दिएको छ । उनका अनुसार अस्पताल पनि बिरामी र परिवारको अवस्थाप्रति संवेदनशील रहेको छ।
यस घटनाले ग्रामीण क्षेत्रमा सर्पदंश अझै पनि ज्यानै जाने जोखिमका रूपमा रहेको यथार्थलाई फेरि उजागर गरेको ब्लड फर नेपालका युवा अभियन्ता सरोज कुमार महतो जनाए ।
। वर्षायाममा सर्पको गतिविधि बढ्ने भएकाले घरपरिवार, विशेष गरी बालबालिकाको सुरक्षामा विशेष सावधानी आवश्यक रहेको स्वास्थ्यकर्मीहरू बताउँछन्।
स्थानीयवासीले विपन्न परिवारलाई तत्काल राहत उपलब्ध गराउन, उपचार खर्च व्यवस्थापनमा सहयोग गर्न तथा यस्ता घटनामा आर्थिक अभावकै कारण थप पीडा भोग्न नपर्ने व्यवस्था गर्न स्थानीय, प्रदेश र संघीय सरकारसँग माग गरेका छन्।
मधेस सरकारका श्रम तथा यातायात मन्त्री सारदा थापा, बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीसहित अस्पताल पुगेका थिए ।
विवेक अब फर्केर आउने छैनन्। तर उनको मृत्युले एउटा गम्भीर प्रश्न भने छोडेको अस्पताल पुगेका युव नेता पिताम्बर महतोले बताए । उनका अनुसार गरिबीका कारण उपचारको खर्च तिर्न नसक्दा मृतकको शवसमेत अस्पतालमै रोकिनुपर्ने अवस्था आखिर कहिलेसम्म ?





