लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली



काठमाडौँ, साउन ७ गते ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार स्थापना र लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाट नै भएको बताएको छ ।

एमालेको ‘राजधानी प्रदेश कमिटी’ ले ४८औँ पुष्पलाल श्रेष्ठ स्मृति दिवसका सन्दर्भमा आज आयोजना गरेको ‘संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणमा संविधान निर्माता मुख्य दलहरूको भूमिका र दायित्व’ विषयक कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान अवस्थामा नयाँ र पुराना दलका नाममा गरिने बहसले घरघरमा विवाद र विभाजन ल्याउने बताए ।

राजनीतिक दलहरूले समयानुकूल परिवर्तन हुने चेत बोक्ने भएकाले कठिन परिस्थितिमा पनि निरन्तर लड्न र उठ्न सक्ने अध्यक्ष ओलीको दाबी छ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले विगतमा जनताले जिम्मेवारी दिँदा पनि आफूहरूले सोचे जसरी काम गर्न नसकेको विषयमा आत्मसमीक्षा गर्नुपर्ने बताए । उनले अहिलेको अवस्थामा देशभक्त शक्ति, कम्युनिष्ट र वामपन्थीहरूबीच एकता र सहकार्य गर्न सकेमा पुष्पलालप्रति साँचो श्रद्धाञ्जली हुने बताए ।

नेपाली कांग्रेसका नेता एवं वरिष्ठ अभिवक्ता राधेश्याम अधिकारीले लोकतन्त्र र संविधानमाथि आउन सक्ने कुनै पनि चुनौतीको राजनीतिक दलहरू मिलेर सामना गर्नुको विकल्प नभएको बताए ।

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले विगतका कमजोरी र प्राप्तिको समीक्षा गर्दै लोकतन्त्र र संविधानको रक्षाका लागि राजनीतिक दलहरू नै अग्रमोर्चामा आउनुपर्ने बताए ।

Scroll to Top