अन्योलमा रहेको बर्दिबास मेडिकल कलेज अघि बढाउने सरकारको प्रतिबद्धता



द पब्लिक टुडे
बर्दिबास, साउन ११ गते ।

लामो समयदेखि अन्योलमा रहेको बर्दिबास मेडिकल कलेज निर्माणलाई सरकारले अघि बढाउने भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आयोजना कुनै हालतमा नरोकिने भन्दै निर्माणको उपयुक्त मोडेल तय गरेर काम अघि बढाउने बताएका छन् ।

प्रस्तावित मेडिकल कलेज निर्माणस्थलको स्थलगत निरीक्षण गर्दै मन्त्री पोखरेलले आयोजना घोषणा भएको लामो समय बितिसक्दा पनि निर्माणको काम अघि बढ्न नसक्नुमा विगतमा आवश्यक आधारभूत तयारी र कार्यान्वयनको स्पष्ट ढाँचा तय हुन नसक्नु मुख्य कारण रहेको बताए ।

उनले बर्दिबास मेडिकल कलेज मधेश प्रदेशका लागि महत्वपूर्ण परियोजना भएकाले यसको सञ्चालन र व्यवस्थापनका लागि उपयुक्त संरचना तय गर्न सरकारले अध्ययन गरिरहेको जानकारी दिए । विश्वविद्यालयअन्तर्गत सञ्चालन गर्ने वा छुट्टै स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेर अघि बढाउने भन्ने विषयमा विकल्पहरूबारे अध्ययन भइरहेको उनको भनाइ थियो ।

“मेडिकल कलेजमा लगानी गर्न राज्यले लोभ गर्नुहुँदैन, र हामी गर्दैनौँ पनि । यस क्षेत्रमा यस्तो स्तरको मेडिकल कलेज आवश्यक छ । त्यसैले कुन मोडेलमा सञ्चालन गर्ने भन्ने विषयमा गम्भीर अध्ययन भइरहेको छ,” मन्त्री पोखरेलले भने ।

उनका अनुसार सञ्चालनको उपयुक्त संरचना पहिचान भएपछि त्यसैअनुसार निर्माण प्रक्रिया अघि बढाइनेछ । मेडिकल कलेजजस्तो दीर्घकालीन महत्वको परियोजनालाई राज्यले आवश्यक स्रोत र लगानीसहित अघि बढाउनुपर्नेमा सरकार स्पष्ट रहेको उनले बताए ।

बर्दिबास मेडिकल कलेज खारेज हुन लागेको भन्ने चर्चा निराधार रहेको पनि मन्त्री पोखरेलले स्पष्ट पारे । आयोजनाका लागि बजेटको व्यवस्था भइसकेकाले परियोजना रोक्ने सरकारको कुनै योजना नरहेको उनले बताए ।

मेडिकल कलेज निर्माणको घोषणा भएको लामोसमयसम्म पनि काम सुरु हुन नसकेको विषयमा मन्त्री पोखरेलले विगतको तयारीप्रति असन्तुष्टि जनाए । योजनाबद्ध रूपमा काम अघि बढाउन सकेको भए आयोजना यति लामो समयसम्म अल्झिनुपर्ने अवस्था नआउने उनको भनाइ थियो ।

“राम्रोसँग योजना बनेको भए त उहिल्यै बन्थ्यो होला । अब हामी यसलाई व्यवस्थित रूपमा अघि बढाउँछौँ,” उनले भने ।

बर्दिबासमा मेडिकल कलेज निर्माण हुने अपेक्षा स्थानीयले लामो समयदेखि गर्दै आए पनि काम अघि बढ्न नसक्दा निराशा बढ्दै गएको छ । आयोजना निर्माण सम्पन्न भए मधेश प्रदेशमा चिकित्सा शिक्षाको विस्तारसँगै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचसमेत बढ्ने अपेक्षा गरिएको छ ।

मन्त्री पोखरेलको स्थलगत निरीक्षणपछि बर्दिबास मेडिकल कलेज निर्माणले गति लिने आशा स्थानीयमा पलाएको छ । यद्यपि, सञ्चालनको मोडेल टुंगो लगाएर निर्माणको वास्तविक काम कहिले सुरु हुन्छ भन्ने विषयमा सरकारको आगामी निर्णय महत्वपूर्ण हुनेछ ।

प्रतिनिधिसभा सदस्य प्रमोदकुमार महतोले बर्दिबास मेडिकल कलेजलाई अब थप समय अल्झाउन नहुने बताए । मधेश प्रदेशका लाखौँ नागरिकको स्वास्थ्य र चिकित्सा शिक्षासँग प्रत्यक्ष जोडिएको आयोजना भएकाले सरकारले यसलाई राष्ट्रिय प्राथमिकतामा राखेर निर्माण अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

Scroll to Top