काठमाडौँ, साउन १४ गते ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले मधेसमा भएका पछिल्ला हिंसात्मक घटनालाई सरकारले गम्भीरतापूर्वक लिई समाधानका लागि ठोस पहल गरिरहेको बताएको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै मन्त्री डा. तिमिल्सिनाले घटनाका विषयमा विभिन्न माध्यमबाट भइरहेका भ्रामक र गैरजिम्मेवार सामग्रीको प्रसारणप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। यस्ता भ्रामक सामग्रीले स्थितिलाई थप जटिल बनाउने र हिंसा भड्काउने जोखिम रहने उनले उल्लेख गरेको छ।
संवेदनशील घडीमा सम्पूर्ण सञ्चारमाध्यम, सम्पादक, पत्रकार, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा आम नागरिकलाई सत्य, तथ्य र जिम्मेवारीपूर्ण सूचना मात्र सम्प्रेषण गर्न उनले हार्दिक आग्रह गरेको छ। अपुष्ट सूचना, भ्रामक सामग्री, घृणा फैलाउने अभिव्यक्ति वा कुनै पनि समुदाय, समूह वा व्यक्तिविरुद्ध उत्तेजना फैलाउने सामग्री प्रसारण तथा सेयर नगर्नसमेत उनले अपिल गरेको छ।
शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्नु सबैको साझा जिम्मेवारी भएको बताउँदै मन्त्री डा। तिमिल्सिनाले असहमतिका विषयलाई संवाद, कानुनी प्रक्रिया र लोकतान्त्रिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ। उनले जिम्मेवार सञ्चार, संयमित अभिव्यक्ति र आपसी सम्मानका माध्यमबाट मात्रै शान्त र समृद्ध देश निर्माण गर्न सकिने स्पष्ट पारेको छ।





