द पब्लिक टुडे
बर्दिबास, साउन १६ गते ।
महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानीमा स्थानीय सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूले शनिबार बिहानदेखि विपि राजमार्ग अवरुद्ध गर्दै चक्काजाम गरेका छन् । गत जेठ ११ गते वन प्रशासनसँग भएको विवादपछि स्थानीयवासीमाथि दर्ता गरिएको मुद्दा फिर्ता नलिएपछि आन्दोलन चर्किएको हो ।
प्रदर्शनकारीहरूले ‘झुठा मुद्दा फिर्ता गर’, ‘घटनाका दोषी डिएफओलाई कारबाही गर’ तथा ‘घटनाका बेला भएको सहमति कार्यान्वयन गर’ भन्ने माग राख्दै राजमार्ग अवरुद्ध गरेका छन् । चक्काजामका कारण पूर्व–पश्चिम आवागमन प्रभावित भएको छ भने सयौं सवारीसाधन लामो समयदेखि रोकिएका छन् । यात्रुहरू समेत अलपत्र परेका छन् ।
यसअघि बुधबार कालापानीमा बसेको सर्वदलीय बैठकले उक्त घटनामा चारजनामाथि झुठा मुद्दा लगाइएको निष्कर्ष निकाल्दै तीन दिनभित्र मुद्दा फिर्ताका लागि पहल गर्न बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्रीलाई जिम्मेवारी दिएको थियो ।
सोही निर्णयअनुसार बिहीबार बर्दिबास नगरपालिकामा प्रमुख जिल्ला अधिकारी, स्थानीय सरकार, सुरक्षा निकाय र राजनीतिक दलहरूको संयुक्त बैठक बसेको थियो । बैठकमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मुद्दा दर्ता भइसकेर अनुसन्धानको प्रक्रियामा रहेकाले तत्काल फिर्ता लिन नसकिने बताएपछि बैठक निष्कर्षविहीन बनेको थियो ।
नगरप्रमुख क्षेत्रीले प्रशासनलाई दिइएको तीन दिने अल्टिमेटम शुक्रबार सकिने जानकारी गराएका थिए । तर, माग सम्बोधन नभएपछि शनिबारदेखि स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार सारु मगरका अनुसार कालापानी घटनासम्बन्धी मुद्दा असार १९ गते दर्ता भई अनुसन्धानको क्रममा रहेको छ ।
के हो कालापानी घटना ?
जेठ ११ गते डिभिजन वन कार्यालयका कर्मचारी वन अतिक्रमण हटाउने सूचना टाँस्न कालापानी पुगेका बेला स्थानीयले उनीहरूलाई नियन्त्रणमा लिएका थिए । त्यसक्रममा वन कार्यालयको बा.२ झ २७४९ नम्बरको सरकारी गाडीमा आगजनी भएको थियो ।
वन कर्मचारीलाई मुक्त गराउने क्रममा प्रहरीले लाठीचार्ज गरेपछि स्थिति झन् तनावग्रस्त बनेको थियो । त्यसपछि स्थानीय र प्रशासनबीच घटनामा घाइते भएकाको उपचार सरकारले गर्ने, धरपकड नगर्ने तथा घटनाको जिम्मेवारी सरकारले लिने सहमति भएको स्थानीयहरूको दाबी छ ।
स्थानीयका अनुसार उक्त सहमति विपरीत अहिले प्रहरीले चारजनाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएपछि उनीहरू पुनः आन्दोलनमा उत्रिएका हुन् ।
कालापानी, राजाबास, वरडाँडालगायत क्षेत्रमा वन अतिक्रमण हटाउने सरकारी अभियान र पुस्तौंदेखि बसोबास गर्दै आएका नागरिकको लालपूर्जाको मागबीच उत्पन्न विवाद अहिले पुनः सडक आन्दोलनका रूपमा देखिएको छ।





