द पब्लिक टुडे
बर्दिबास, साउन १६ गते ।
महोत्तरीको बर्दिबास नगरपालिका-३ स्थित कालापानीमा प्रदर्शनकारीले अवरुद्ध गरेको बिपी राजमार्ग सञ्चालनमा आएको छ ।
आन्दोलनरतपक्षसँग मौखिक सहमति भएपछि बिहानदेखि अबरुद्ध राजमार्ग सञ्चालनमा आएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
गत जेठ ११ गते स्थानीय र वन प्रशासनसँग भएको विवादमा झुठा मुद्दा लगाइएको भन्दै स्थानीय सुकुमवासी तथा अव्यवस्थित वसोवासीहरुले सडक चक्काजाम गरेका थिए ।
जेठ ११ गते साँझ कालापानीस्थित वन क्षेत्रमा रहेको बस्ती खाली गराउन सूचना जारी गर्न वन कर्मचारीहरू आएको भन्दै स्थानीयले उनीहरूलाई राति १२ बजेसम्म नियन्त्रणमा राखेका थिए । सो क्रममा बर्दिबास नगरपालिका–३, कालापानीमा डिभिजन वन कार्यालयको बा.२ झ २७४९ नम्बरको सरकारी गाडीमा आगजनी समेत गरिएको थियो ।
त्यसबेला घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिने, घटनामा घाइते भएकाहरूको उपचार राज्यले गर्ने र घटनामा कसैविरुद्ध मुद्दा चलाएर धरपकड नगर्ने विषयमा स्थानीय प्रशासनसँग सहमति भएको थियो । तर, प्रहरीले अहिले घटनामा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएपछि स्थानीय पुन: आक्रोशित बनेका छन् ।
उक्त प्रकरणमा चारजनामाथि झुठा मुद्दा लगाइएको भन्दै बुधबार कालापानीमा बसेको सर्वदलीय बैठकले आरोपीहरु निर्दोष रहेकोले तीन दिनभित्र मुद्दा फिर्ताका लागि स्थानीय प्रशासनलाई अल्टिमेटम दिएको थियो ।तीनदिने अल्टिमेटम शुक्रबार सकिएपछि स्थानीय सुकुमवासी तथा अव्यवस्थित वसोवासीहरु शनिबार
बिहानैदेखि राजमार्ग अवरुद्ध पार्दै आन्दोलनमा उत्रिएका थिए ।राजमार्ग अवरुद्ध भएपछि प्रमुख जिल्ला अधिकारी यादव र जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकुमार सारु मगरले समन्वय गरेपछि राजमार्ग खुलेको हो ।





