रास्वपाका हिन्दूवादी अभियन्ता हुन पाउने : मनिष झा



द पब्लिक टुडे
गौशाला, साउन १७ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरू हिन्दूवादी अभियन्ता हुन पाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा सांसद मनिष झाले बताएका छन् ।

आइतबार जनकपुरमा पत्रकारहरूसँग कुराकानीका क्रममा उनले हिन्दू सम्राट सेनामा रास्वपाको कार्यकर्ता पनि भएको स्वीकार गर्दै यस्तो बताएका हुन् । हिन्दू सम्राट सेनाको तर्फवाट सरकारसँग भएको वार्तामा सहभागीमध्ये एक जना रास्वपाका सदस्य रहेका थिए । उक्त विषय सार्वजानिक भएपछि रास्वपाको आलोचना भएको थियो । सांसद झाले यस विषयलाई लिएर अतिरञ्जित गर्न आवश्यक नरहेको बताए ।

पार्टीको सदस्य र धार्मिक आस्थाका आधारमा अभियानमा सहभागी हुनु दुवै व्यक्तिगत स्वतन्त्रताको विषय भएको उनको भनाइ छ । वार्तामा सहभागी भएकै आधारमा विवाद सिर्जना गर्नु अनुचित भएको टिप्पणी पनि उनले गरे ।

‘हाम्रो कार्यकर्ता १५ जनामध्ये एकजना हुनुहुन्थ्यो, जो राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य हो तर उहाँ हिन्दूवादी अभियन्ता पनि हो । त्यो उहाँको व्यक्तिगत स्वतन्त्रता हो । हिन्दूवादी अभियन्ता हाम्रो पार्टीको सदस्य पनि हुन पाउनुहुन्छ । उहाँले नै यो आन्दोलनमा तोडफोडमा आगजनीमा हत्या हिंसामा जानुको सट्टा होइन वार्ता गरौँ भनेर हामीले उहाँलाई वार्ताको टेबलमा ल्यायौं,’ झाले भने, ‘के कुनै पार्टीको सदस्य सरकारसँग वार्ता गर्न पाउँदैन ? आन्दोलनमै जानुपर्ने, तोडफोड नै गर्नुपर्ने, हत्या हिंसामै सीमित हुनुपर्ने कस्तो तर्क गरेको ? रास्वपाको भातृ सङ्गठनहरू छैन तर धर्मप्रतिको आस्था हाम्रा पार्टीका सदस्यहरूले पनि राख्न पाउनुहुन्छ र उहाँहरू धर्मको आस्थाको अभियन्ताको रूपमा हामीसँगै वार्ताको टेवलमा पनि आउनुपर्छ, आउन पाउनुहुन्छ ।’

रास्वपाका पार्टी सदस्य भएको कारणले नै आन्दोलनलाई हिंसात्मक बाटोमा नभई वार्तामार्फत समाधान खोज्न सफल भएको दाबी उनले गरे । हिन्दू सम्राट सेनाका सम्भावित र उचित मागमाथि थप छलफल गरेर सरकार अगाडी बढ्ने उनको भनाइ छ । उनका अनुसार हिन्दू सम्राट सेनाका प्रतिनिधिसँग सरकारले साढे नौ घण्टा वार्ता गरेको थियो । आन्दोलनकारीका मागहरू संवैधानिक, व्यावहारिक र सामाजिक दृष्टिले सम्भव हुने गरी परिमार्जन गर्न लामो समय छलफल गरिएको उनको दाबी छ ।

‘एकजना पार्टीको सदस्य कुनै धर्मप्रतिको आस्था राख्ने व्यक्ति पनि हुनसक्छ, ऊ बुवा पनि हुनसक्छ, छोरा पनि हुनसक्छ, श्रीमान् पनि हुनसक्छ, श्रीमती पनि हुनसक्छ, दाजुभाइ काका भतिजा जे पनि हुनसक्छ । तिमी रास्वपा हौ, त्यसैले तिमी छोरा हुन पाउँदैनौ, तिमी रास्वपाको सदस्य हौं, त्यसैले तिमी कसैको भाइ हुन पाउँदैनौ भन्ने त कहाँको र कस्तो तर्क हो यो ?,’ झाले थप भने, ‘त्यसैले गर्दा उहाँहरूको बौद्धिक दरिद्रताप्रति दया राख्दै म यो भन्न चाहन्छु कि रास्वपाको सदस्यहरूको जीवनको अर्को अंश पनि हुन्छ । उहाँहरू त्यहाँबाट वार्ताको टेवलमा पनि आउन पाउनुहुन्छ, आउनुभयो उहाँहरूको माग हामीहरूले बुझ्यौँ, त्यो ग्रहण गर्यौँ । उहाँहरूले राख्नुभएको सम्भावित यथोचित मागहरू प्रति हामी त्यसमा छलफल गर्नेछौँ ।’

Scroll to Top