काठमाडौं, साउन १८ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टीले बाँकी रहेका जिल्ला तथा प्रदेश अधिवेशन गर्न परिपत्र गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले परिपत्र गर्दै यस्तो आग्रह गरेका हुन् ।
‘हालसम्म सम्पन्न हुन बाँकी रहेका सबै जिल्ला तथा प्रदेश अधिवेशनहरू पार्टीको प्रथम महाधिवेशन चक्रकै बाँकी प्रक्रिया हुन्,’ परिपत्रमा भनिएको छ, ‘अतः ती अधिवेशनहरूमा प्रथम महाधिवेशन चक्रका लागि लागू भएका पार्टीको विधान, निर्वाचन कार्यविधि तथा केन्द्रीय निर्वाचन आयोगबाट जारी भएका निर्णय, निर्देशन तथा व्याख्या समान रूपमा लागू हुनेछन् ।’
आयोगका अनुसार पार्टीको प्रथम महाधिवेशन चक्र अन्तर्गत सञ्चालन भइरहेका जिल्ला तथा प्रदेश अधिवेशनसम्बन्धी निर्वाचन प्रक्रियामा एकरूपता, वैधानिकता तथा निष्पक्षता कायम राख्न केन्द्रीय निर्वाचन आयोगबाट यस्तो निर्देशन जारी गरिएको हो ।
निर्देशनअनुसार प्रथम महाधिवेशन चक्रमा कुनै सदस्यले अर्को तहबाट प्रतिनिधि वा कुनै पदमा उम्मेदवारी दर्ता गरेसँगै, सोही महाधिवेशन चक्रका लागि बहाल रहेको निजको प्रतिनिधिको हैसियत स्वतः समाप्त भएको मानिनेछ । यसका लागि छुट्टै राजीनामा वा स्वीकृति आवश्यक पर्ने छैन ।
प्रथम महाधिवेशन चक्रमा प्रत्येक सदस्यले एक तहको प्रतिनिधित्व मात्र गर्न पाउनेछ । एकै महाधिवेशन चक्रमा कुनै सदस्यको एकभन्दा बढी तहमा प्रतिनिधित्व कायम रहने छैन ।
रास्वपाको प्रथम महाधिवेशन २०८३ साल असार ७ गतेदेखि १२ गतेसम्म चलेको थियो । उक्त महाधिवेशनले पार्टी सभापतिमा रवि लामिछाने र उपसभापतिमा स्वर्णिम वाग्लेलाई निर्विरोध निर्वाचित गरेको थियो ।
उपसभापति महिलातर्फ सोबिता गौतम विजयी भइन् । महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भए । सह–महामन्त्री खुलातर्फ असिम शाह र हरि ढकाल विजयी भए । सह–महामन्त्री (महिला) तर्फ निशा डाँगी विजयी भइन् । ९९ जना केन्द्रिय समितिमा निर्वाचित भए । ५१ जना केन्द्रिय सदस्य सभापतिले निर्वाचित गर्नेछन् ।
महाधिवेशन सकिएको एक महिनापछि १३ साउनमा रास्वपाको केन्द्रीय समिति बैठक बसेको थियो । जसले पार्टीको वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन शाह मनोनित गर्यो । शाहलाई सभापतिपछिको दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेतामा मनोनीत गरिएको छ ।
पार्टी विधान अनुसार महाधिवेशनबाट चुनिएका सभापतिसहित ८ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यबाहेक बाँकी पदमा सभापतिको सिफारिसमा केन्द्रीय समितिले मनोनयन गर्ने व्यवस्था छ । वरिष्ठ नेता, उपसभापति, महामन्त्री सहित ११ जना पदाधिकारी र ५१ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने व्यवस्था छ ।
मनोनित गर्ने लगायतका काम बाँकी रहेका बेला पार्टीको केन्द्रीय निर्वाचन आयोगले बाँकी रहेका जिल्ला तथा प्रदेश अधिवेशन गर्न परिपत्र गरेको हो । प्रदेशहरूमध्ये मधेश प्रदेशको अधिवेशन बाँकी छ । त्यस्तै मधेशका सबै जिल्लासहित अन्य १२ वटा जिल्लामा पनि अधिवेशन हुन बाँकी छ ।





