इरानसँग वार्ता गर्ने ट्रम्पको घोषणाले कच्चा तेलको भाउ घट्यो



एजेन्सी, साउन १८ गते ।

एक साताअघिसम्म इरानलाई सैन्य हमलाको धम्की दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एकाएक वार्ताका लागि लचक भएका छन् ।

इरानसँग वार्ता गर्ने र सम्झौताको ड्राफ्ट समेत तयार भएको दाबी गरिएको छ । ट्रम्पको यस्तो घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । उनको घोषणाले अन्तर्राष्ट्रिय नाका स्ट्रेट अफ हर्मुजमार्फत आपूर्ति पूर्ण रुपमा सहज हुने विश्वासले तेलको मूल्य सोमबार घटेको हो ।

सोमबार साढे १२ बजेसम्म कच्चा तेलको भाउ ५ देखि ६ प्रतिशतसम्म घटेको छ । डब्लूटीआई क्रुड आयल ६.३७ प्रतिशत घटेर प्रतिब्यारेल ७९.२८ अमेरिकी डलरमा झरेको छ । त्यस्तै ब्रेन्ट क्रुड आयल ५.५४ प्रतिशत मूल्य घटेर ८३.०७ तथा मुर्बान क्रुड आयलको ६.५७ प्रतिशत मूल्य घटेसँगै ७९.८७ डलर प्रतिब्यारेलमा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भएको परिवर्तनले नेपालसहित विश्वभर प्रशोधित तेलको मूल्यमा असर पर्दछ । यद्यपि नेपालमा भने गएरातिबाट पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ ।

पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ , डिजेल र मट्टितेलमा ५ रूपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रूपैयाँका दरले मूल्यवृद्धि भएको हो ।

योसँगै पेट्रोल र डिजेलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा २ सय रुपैयाँ, सुर्खेत र दाङमा १ सय ९९ रुपैयाँ कायम भएको छ । त्यस्तै, चारआली, विराटनगर, जकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा १ सय ९७ रुपैयाँ ५० पैसा पुगेको छ ।

Scroll to Top