काठमाडौं, साउन १९ गते ।
समाज कल्याण परिषद्ले बन्द गरेको भृकुटमण्डपस्थित सार्वजनिक पुस्तकालय खुलाउन दबाब दिनका लागि नेपाल विद्यार्थी संघले हस्ताक्षर अभियान सुरु गरेको छ ।
समाज कल्याण परिषद्अन्तर्गत रहेको भृकुटीमण्डपका स्टलहरु मध्येमा दुइ वटामा काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजले पुस्तकालय सञ्चालन गरिरहेको थियो । पुस्तकालयले प्रयोग गरेको स्टलको भाडा नतिरेको भन्दै चैत ३० गतेदेखि समाज कल्याण परिषद्ले पुस्तकालयमा ताला लगाएको छ ।
सार्वजनिक पुस्तकालय खुलाउन दबाब दिनका लागि नेविसंघले हस्ताक्षर अभियान गरिरहेको संघको अध्यक्ष करुणा कटुवालले जानकारी गराइन् । कटुवालले अनलाइनखबरसँग भनिन्,‘पुस्तकालय नखुलेसम्म हस्ताक्षर अभियान जारी रहन्छ । अहिलेसम्म दुई सय बढी हस्ताक्षर भइसकेको छ ।’
समाज कल्याण परिषद्मार्फत सञ्चालित स्टलमा निजी व्यवसाय, सामाजिक संघसंस्था, मिडिया कार्यालय, पुस्तकालयले भाडा नतिरेको भन्दै ताला लगाइएको थियो ।
सुरक्षाकर्मीको सहयाताले २० वटा स्टलमा ताला लगाइएको थियो । परिषद्का अनुसार पुस्तकालयका लागि सञ्चालित ३४ नम्बर स्टलले भाडा वापतको १ करोड १३ लाख ५३ हजार ९५ रुपैयाँ चुक्ता गर्न बाँकी छ । अर्को स्टल ३८ ले तिर्न बाँकी रकम १ करोड ७६ लाख ७० हजार २८१ रुपैयाँ छ ।
समाज कल्याण परिषदसँग काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजले २०६४ असोज २१ गते भाडा सम्झौता गरेका थियो । तत्कालीन समयको सम्झौतामा अन्यको तुलनामा पुस्तकालयको हकमा छुट्टै भाडातर तय गरिएको थियो । पुस्तकालयका लागि ७५ प्रतिशत भाडा छुट दिने गरी सम्झौता भएको थियो ।
पुस्तकालय सञ्चालन भएको ३४ नम्बर स्टलले प्रतिमहिना ४ हजार ८४४ र ६८ नम्बर स्टलले ७ हजार ५५५ तिर्ने गरी सम्झौता भएको पुस्तकालय व्यवस्थापक लिला भट्टराईले अनलाइनखबरलाई जानकारी गराए । पुरानो सम्झौता पुनरावलोकनसमेत नगरी समाज कल्याणले पुस्तकालयलाई निजी व्यवसाय जस्तै व्यवहार गरेको भन्दै भट्टराई असन्तुष्टि व्यक्त गरे ।
दातृ संस्था एवं व्यक्तिहरूबाट पुस्तकालयमा ४० हजार पुस्तक, पत्रिका, जर्नल, मन्त्रालयका प्रतिवेदनहरू संरक्षित छन् । समाजका अनुसार दैनिक २०० हाराहारी पाठक अध्ययनका लागि पुस्तकालय पुग्ने गरेका थिए । पुस्तकालय सञ्चालनका लागि विभिन्न पक्षले चासो देखाइरहे पनि पुस्तकालयमा चार महिनादेखि ताला लागिरहेको छ ।





