अनलाइन ठगी : विवाहको प्रलोभनमा गुमाइन् ३१ लाख



काठमाडौं, साउन २५ गते ।

प्रविधिको विकाससँगै पछिल्लो समय अनलाइन ठगी (साइबर क्राइम) का नयाँ र जटिल रूप सतहमा देखिन थालेको छ । सामाजिक सञ्जालमार्फत हुने यस्ता ठगीको एउटा भयावह उदाहरण हो, हालै कास्कीमा एक महिलाले अपरिचित व्यक्तिको प्रलोभनमा परेर ३१ लाख रुपैयाँ गुमाउनुपरेको घटना ।

ती महिला ठगिएको कथा फेसबुकबाट सुरु भएको थियो । यूकेको कोड भएको ह्वाट्सएप नम्बर प्रयोग गर्ने एक व्यक्तिले आफू अविवाहित र बेलायतमा अथाह सम्पत्ति रहेको भन्दै उनीसँग मित्रता गाँसेका थिए ।

कुराकानीका क्रममा ती व्यक्तिले आफू बेलायतको सम्पूर्ण सम्पत्ति बेचेर नेपाल आउन लागेको र यहीँ घरजग्गा किनेर उनीसँगै जीवन बिताउने आश्वासन दिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, महिलालाई आश्वस्त तुल्याउन ती व्यक्तिले विमानस्थलका भिडियो पठाउँथे । भिडियो कल समेत गर्ने गरेका थिए ।

केही समयपछि ती व्यक्तिले आफू भारतको बाटो हुँदै नेपाल आउन लागेको बताए । लगत्तै भारतीय प्रहरीको पोसाक लगाएको प्रोफाइल तस्बिर (डीपी) भएको ह्वाट्सएप नम्बरबाट ती महिलालाई फोन आयो ।

फोनमा भनिएको थियो, ‘तपाईंको साथी ठूलो परिमाणको नगद र सम्पत्तिसहित समातिएका छन्, उनलाई छुटाउन भन्सार र जरिबानाबापत रकम तिर्नुपर्छ ।’

आफ्नो भावी श्रीमान् ठानिएका व्यक्ति समस्यामा परेको भन्ने लागेर ती महिलाले सुरुमा पटक–पटक गरी नौ लाख रुपैयाँ पठाइन् । यति रकम पठाएपछि आफू ठगिएको आशंकामा उनी जिल्ला प्रहरी कार्यालय कास्की पुगिन् ।

प्रहरीले अनुसन्धान गरी यो स्पष्ट रूपमा ठगी भएको र अब थप एक रुपैयाँ पनि नपठाउन उनलाई सचेत गरायो । तर, ‘ठग’को मनोवैज्ञानिक प्रभाव यति बलियो थियो कि प्रहरीको चेतावनीका बाबजुद ती महिलाले पुनः २२ लाख रुपैयाँ पठाइन् ।

प्रहरीका अनुसार, ती व्यक्तिले ‘म अब निस्कन लागेँ, बाँकी २२ लाख दिएपछि सबै सम्पत्ति लिएर तिमीकहाँ आउँछु’ भनी भावनात्मक ‘ब्ल्याकमेल’ गरेका थिए ।

अन्ततः ३१ लाख रुपैयाँ गुमाएपश्चात् र भारतीय प्रहरीसँगको समन्वयमा उक्त व्यक्ति अपराधी रहेको पुष्टि भएपछि मात्र ती महिलाले आफू ठगिएको यथार्थ स्वीकार गरिन् ।

कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्र पासवानका अनुसार, यो घटना एउटा प्रतिनिधिमूलक उदाहरण मात्र हो । अहिले बजारमा ठगीका अनेकौँ शैली अपनाइएको पाइएको छ ।

फेसबुक र टिकटकमा सस्तो सामानको विज्ञापन राख्ने, अर्डर गरेपछि ‘पैसा आएन’ भन्दै स्क्रिन सेयर गर्न लगाउने र मोबाइलमा आएको ओटीपीमार्फत बैंक खाताबाट रकम ‘उडाउने’ गरिएको छ ।

नजिकका साथी वा आफन्तको फेसबुक र ह्वाट्सएप ‘ह्याक’ गरी ‘म संकटमा छु, तुरुन्तै पैसा पठाइदेऊ’ भन्दै म्यासेज गरेर समेत पैसा असुल्ने गरिएको छ ।

आकर्षक देशहरूको लोभ देखाएर नक्कली कागजात बनाउने र ‘प्रोसेसिङ’का नाममा मोटो रकम ठग्ने गिरोह उत्तिकै सक्रिय छ । बैंक वा ई–सेवा, खल्तीजस्ता संस्थाको कर्मचारी भन्दै केवाईसी अपडेट गर्ने बहानामा ओटीपी माग्ने र खाताबाट रकम स्थानान्तरण गर्ने प्रवृत्ति पनि बढेको प्रहरीले जनाएको छ ।

सुरुमा सानो रकमको दोब्बर फिर्ता दिएर विश्वास जित्ने र पछि लाखौँ रुपैयाँ लिएर सम्पर्कविहीन हुने ‘अनलाइन बेटिङ’ एवं नक्कली लगानीका ‘स्किम’ पनि देखिएको छ ।

सूचना अधिकारी पासवानले अनलाइन ठगीबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । “कुनै पनि अपरिचित व्यक्तिले सामाजिक सञ्जालमा दिएको प्रलोभनमा नपर्नुस्, थोरै लगानीमा धेरै नाफा वा महँगो सामान सस्तोमा पाउने आश्वासन ठगीको पहिलो संकेत हो,” उनले भने ।

प्रहरीले आफ्नो बैंक खाताको विवरण, पिन नम्बर र ओटीपी कसैलाई नदिन, शंकास्पद लिंक नखोल्न, अनधिकृत एपहरू डाउनलोड नगर्न र कुनै पनि अनलाइन कारोबार गर्नुअघि आधिकारिकता बुझ्न सर्वसाधारणलाई अपिल गरेको छ ।

यदि, ठगी भएको शंका लागेमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरिएको छ । न्युज एजेन्सी नेपाल

Scroll to Top