रेसुङ्‍गा विमानस्थलमा दुई महिनादेखि उडान प्रभावित



गुल्मी, साउन २६ गते ।

मौसममा आएको प्रतिकूलताका कारण गुल्मीको रेसुङ्‍गा विमानस्थलबाट हुने नियमित हवाई उडान करिब दुई महिनादेखि प्रभावित भएको छ ।

वर्षायाम सुरु भएसँगै बिहानपख बाक्लो बादल लाग्ने तथा मौसम खराब हुने क्रम बढेपछि निर्धारित उडान सञ्चालन गर्न कठिनाइ भएको हो ।

नेपाल एयरलाइन्स रेसुङ्‍गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाका अनुसार गत जेठ २४ गतेदेखि बिहानको समयमा लगातार मौसम प्रतिकूल हुँदा नियमित उडान प्रभावित हुँदै आएको छ ।

उनका अनुसार वर्षायाममा प्रत्येक वर्ष करिब अढाइ महिनासम्म रेसुङ्‍गा विमानस्थलको उडान प्रभावित हुने गरेको छ ।

यात्रुको बढ्दो चापलाई मध्यनजर गर्दै नेपाल एयरलाइन्सले रेसुङ्‍गा–काठमाडौं रुटमा साताको तीन दिन शनिबार, आइतबार र बिहीबार नियमित उडान गर्दै आएको छ ।

निर्धारित तालिकाअनुसार काठमाडौंबाट बिहान ६ः३० बजे र रेसुङ्‍गाबाट बिहान ७ः४५ बजे विमान उड्ने व्यवस्था छ ।

तर बिहानै मौसम बिग्रिने भएकाले पछिल्लो समय नियमित उडान सञ्चालनमा समस्या देखिएको हो । हाल गुल्मीबाट काठमाडौं जाने यात्रुका लागि प्रतिव्यक्ति १० हजार ५१० रुपैयाँ र काठमाडौंबाट गुल्मी आउने यात्रुका लागि १० हजार ७१० रुपैयाँ हवाई भाडा निर्धारण गरिएको छ ।

पछिल्लो समय हवाई इन्धनको मूल्य वृद्धि भएसँगै हवाई भाडा बढ्दा यात्रुको चापसमेत घट्दै गएको बताइएको छ ।

त्यसैगरी तम्घासबाट काठमाडौं जोड्ने सडक सञ्जालमा सुधार हुनुका साथै स्तरीय सवारीसाधन सञ्चालन हुन थालेपछि पनि हवाई सेवा प्रयोग गर्ने यात्रुको संख्या घट्न थालेको छ ।

सडक यातायात तुलनात्मक रूपमा सहज र सुलभ बन्दै गएपछि यात्रुले वैकल्पिक यातायात रोज्न थालेका हुन् ।

रेसुङ्‍गा विमानस्थल सञ्चालनमा आएपछि गुल्मीको हवाई पहुँच विस्तार भएको छ ।

विमानस्थलले जिल्लालाई काठमाडौंसँग प्रत्यक्ष हवाई सेवामार्फत जोड्नुका साथै गुल्मीका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय गन्तव्यमा आन्तरिक तथा विदेशी पर्यटकको आगमन बढाउनसमेत सहयोग पुर्‍याउँदै आएको छ ।

मौसम अनुकूल भएपछि नियमित उडान पुनः सञ्चालन हुने कार्यालयले जनाएको छ ।

Scroll to Top