प्राधिकरण सुधारका लागि गम्भीर समीक्षा र सुधार आवश्यक : कुलमान

File Photo



काठमाडौँ, भदौ १ गते ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको नाफा संकुचन भइरहेको भन्दै यस विषयमा गम्भीर समीक्षा र सुधार आवश्यक रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबार प्राधिकरणले ४१औँ वर्ष पूरा गरेको अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘आज प्राधिकरणको नाफा संकुचन भइरहेको (आव २०८१/८२ को १२ अर्बबाट आव २०८२/८३ मा करअघिको नाफा करिब ५ अर्ब मात्र रहेको) विषयमा गम्भीर समीक्षा र सुधार आवश्यक छ । तर यसको विकल्प प्राधिकरणलाई कमजोर बनाउनु होइन, अझ सक्षम, सबल, व्यावसायिक, पारदर्शी र जनउत्तरदायी बनाउनु हो ।’

विद्युतको विश्वसनीय सेवा, ऊर्जा आत्मनिर्भरता, विद्युत निर्यातको विस्तार र समृद्ध नेपालको राष्ट्रिय संकल्पमा प्राधिकरणको भूमिका अझ प्रभावकारी बन्नेमा उनले विश्वास व्यक्त गरेका छन् ।

कुनै समय ‘लोडसेडिङ गराउने संस्था’ का रूपमा चिनिएको प्राधिकरणले आर्थिक वर्ष २०७२/७३ पछि आफ्नो पहिचान नै बदलेको उनले स्मरण गरेका छन् ।

उनले लेखेका छन्, ‘लोडसेडिङको अन्त्यदेखि झन्डै शतप्रतिशत विद्युतीकरणसम्म, विद्युतको खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बन्नेदेखि घाटाको संस्था नाफामा आई राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अवस्थासम्मको यात्रा आफैंमा परिवर्तनको एउटा प्रेरणादायी कथा हो । २०७२/७३ नेपालको ऊर्जा इतिहासको ‘टर्निङ प्वाइन्ट’ थियो । त्यसअघि अँध्यारो, अभाव र घाटाको कथा थियोस त्यसपछि उज्यालो, आत्मविश्वास र सम्भावनाको नयाँ अध्याय सुरु भयो । यस यात्राले एउटा महत्वपूर्ण सन्देश पनि दिएको छ(सार्वजनिक संस्थान राष्ट्रका बोझ मात्र होइनन्, सक्षम नेतृत्व, इमानदार व्यवस्थापन र स्पष्ट उद्देश्य पाए राष्ट्रिय समृद्धिका बलिया संवाहक बन्न सक्छन् ।’

Scroll to Top