महोत्तरीको औरहीमा चापाकल खरिदमा अनियमितता



काठमाडौँ, भदौ १ गते ।

महोत्तरीको औरही नगरपालिकामा चापाकल खरिद तथा वितरणमा व्यापक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आर्थिक वर्ष २०७९/०८० मा भएको खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन र नियमावलीविपरीत काम गरेको भन्दै आयोगले नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर, लेखापाललगायत कर्मचारी र आपूर्तिकर्ताहरूलाई विपक्षी बनाएर आरोपपत्र दायर गरेको हो।

आरोपितहरूले आपसमा मिलेमतो गरी गैरकानुनी लाभ लिने उद्देश्यले मालसामानको दररेटमा १५ प्रतिशत थप गरी लागत अनुमान स्वीकृत गराएको अख्तियारको ठहर छ। ‘प्रतिस्पर्धालाई जानीबुझी सीमित गर्न उनीहरूले एउटै सामानको खरिदलाई विभिन्न विधि प्रयोग गरी पटक–पटक टुक्र्याएको,’ आयोगको विज्ञप्तिमा भनिएको छ, ‘आपूर्तिकर्तासँगको मिलेमतोमा बोलपत्रमार्फत खरिद गर्नुपर्ने कार्य सिलबन्दी दरभाउपत्र र सोझै खरिद गरी सरकारलाई हानीनोक्सानी पुर्‍याएको देखियो।’

यसका साथै खरिद गरिएका चापाकललगायतका सामानको दोहोरो भरपाई तयार गरिएको र वितरण गरिएको भनिएका सामान बुझिएको विश्वसनीय प्रमाणसमेत पेस गर्न नसकेको आयोगले जनाएको छ। नियमविपरीत खरिद कार्य गराएको र अख्तियारकै निर्देशनलाई समेत बेवास्ता गरी भुक्तानी दिएको पाइएपछि उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको मागदाबी गरिएको छ।

आयोगले नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र मैथली, तत्कालीन लेखापाल विजय कुमार यादव र तत्कालीन योजना शाखा प्रमुख गंगाराम यादवविरुद्ध जनही ३६ लाख १३ हजार ३१ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ। त्यसैगरी तत्कालीन इन्जिनियर सन्तोष कुमार यादव र सव–इन्जिनियर विपिन कुमार मण्डलविरुद्ध जनही २० लाख ४९ हजार ४ सय ५० रुपैयाँ तथा तत्कालीन जिन्सी शाखा प्रमुख शिव शंकर यादवविरुद्ध १५ लाख ६३ हजार ५ सय ८१ रुपैयाँ बिगो मागदाबी गरिएको छ। उनीहरूबाट बिगो असुलउपर गरी कैद र जरिवानाको सजाय हुन माग गरिएको छ।

कर्मचारीहरूसँगै मिलेमतो गरी गैरकानुनी लाभ लिएको भन्दै पाँचजना आपूर्तिकर्तालाई पनि अख्तियारले प्रतिवादी बनाएको छ। औरही–१ स्थित लिला आयरन स्टोर्सका प्रोप्राइटर विनय कुमार यादवविरुद्ध ५ लाख ३४ हजार ८ सय ७६ रुपैयाँ ८१ पैसा र जलेश्वर–३ स्थित डि।एम। जेनरल अर्डर सप्लायर्सका प्रोप्राइटर दुधनाथ कुमरविरुद्ध ११ लाख ८९ हजार ४ सय ७१ रुपैयाँ ३६ पैसा बिगो दाबी गरिएको छ। ‘मुख्य कसुरदारले गरेको भ्रष्टाचारजन्य कार्यमा मतिहार भई गैरकानुनी लाभ प्राप्त गरेको,’ आयोगले आपूर्तिकर्ताहरूको हकमा भनेको छ, ‘त्यसैले उनीहरूलाई पनि मुख्य कसुरदारसरह नै सजाय हुन मागदाबी लिएका छौँ।’

यस्तै, जलेश्वर–३ कै श्री राम ईन्टरप्राइजेजका प्रोप्राइटर अमरनाथ कुमरविरुद्ध २ लाख २० हजार १ सय९७ रुपैयाँ ३६ पैसा, औरही–१ स्थित जैसवाल निर्माण सेवा (सिर्जना ट्रेडर्स) का प्रोप्राइटर रामबाबु चौधरीविरुद्ध ७ लाख ९ हजार ६ सय २३ रुपैयाँ ९२ पैसा र ललितपुरको बागडोलस्थित क्वालिटी सोलुसन कम्पनी प्रा।लि।का प्रबन्ध निर्देशक मनोज कुमार यादवविरुद्ध ७ लाख ११ हजार ९ सय रुपैयाँ बिगो कायम गरी सजायको मागदाबी गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

Scroll to Top